भोजपुर। भोजपुर नगरपालिका भित्र चल्ने अटो टेम्पूहरुले मनपरी भाडा लिने गरेका छन् । नगरक्षेत्रमा चल्ने अधिकांश टेम्पु चालकहरुले आफु खुसी चर्को भाडा लिने गरेका हुन् । उनीहरूले प्रतिकिलो मिटर १ सय रुपैयाँ भन्दा बढीका दरले भाडा लिँदा यात्रु चर्को मारमा परेका छन् ।

भोजपुर नगरपालिका १ भ्रामाङ देखि पौवादुङमा गाउँपालिकाको तिवारीभञ्याङ सम्म सात किलोमिटर टेम्पूमा यात्रा गर्दा १५ सय भाडा तिर्नु पर्ने बाध्यता रहेको छ । यस्तै भ्रामाङबाट भोजपुर सदरमुकाम सम्म २९ किलोमिटर यात्रा गर्दा एकतर्फी भाडा ३ हजार तिरेको भोजपुर नगरपालिका १ भ्रामाङका सुर्य तामाङले बताए । टेम्पू व्यावससायीले सरोकारवाला निकायसँग भाडा दर कम देखाएर यात्रुसँग भने धेरै भाडा अशुल्ने गरेको स्थानीयको आरोप छ ।

भाडाका विषयमा भ्रामाङका टेम्पू व्यवसायी बिक्रम तामाङ र तीर्थ भुजेलले भने सदरमुकाम सम्मको १५ सय र तिवारीभञ्याङ सम्मको भाडा एक हजार लिने गरेको बताए । यता बजार क्षेत्रमा चल्ने टेम्पोहरुले पनि नगरपालिका सँग भएको सहमति अनुसार टेम्पूमा भाडा दर नटाँसेको यात्रुले गुनासो गरेका छन् । यस अघि टेम्पु व्यवसायी र नगरपालिका बिच सवारी साधनमा भाडा दर टाँस्ने सहमति भएको थियो ।

टेम्पू चालकहरुले सहमति कार्यान्वयन नगर्दा र नगरपालिकाले अनुगमन नगर्दा यात्रु मारमा पर्ने गरेको पाइएको छ । सदरमुकाम स्थित डाडाँगाउँबाट भोजपुर विमानस्थल सम्म साढे ५ किलोमिटर टेम्पु चढ्दा पाँच सय भाडा तिर्दै आएको यात्रुको भनाई छ ।

च्याङबेनी चौक देखि काफ्ले गुम्बा सम्मको पाँच सय भाडा तिरेको काफ्लेका स्थानीय तीर्थ बहादुर तामाङले बताए । उनले नगरपालिका सँगको सहमतिमा चार सय भाडा तोकिए पनि एक सय बढी भाडा तिरेको सुनाए ।

यस्तै देउराली देखी शेर खोला चार किलोमिटरको भाडा ४ सय र दावाको स्मृति चोक सम्मको भाडा पाँच सय छ । सिलिचुुङ यातायात प्रालिमा आबद्ध टेम्पु चालकहरूले भने भोजपुर नगरपालिका सँग समन्वय गरी यस अघि निर्धारण गरिएको भाडा लिने गरेको दाबी गरेका छन् ।

प्रालिका अध्यक्ष कमल तामाङले बढी भाडा लिने जोसुकैलाई कारबाही गर्ने जिकिर  गरे । प्रालिका सचिव प्रेम राईले केही टेम्पु व्यवसायीबाट यात्रु ठगिने गरेको स्वीकार गरे । उनले भने “भोजपुरमा धेरै टेम्पु छन् , त्यसमा कुनै कुनै टेम्पूले धेरै भाडा लिने गरेको गुनासो आउने गरेको छ , त्यस्ता व्यवसायी माथि कारबाही हुनु पर्छ ”।

के भन्छन् जनप्रतिनिधि  ?

जनप्रतिनिधिले भाडाका विषयमा आएका जनताका गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले यात्रु ठगिनु नुहुने भन्दै वैज्ञानिक भाडा दर निर्धारण गर्नु पर्ने बताए । उनले भने “यात्रा गर्दा जनता ठगिनु हुन्न , टेम्पु व्ययावससायीहरुले पनि गरिखानु पर्छ , तर मनपरी भाडा लिँदै यात्रु ठग्नेलाई नगरपालिकाले कारबाही गर्छ ” ।

त्यसका लागि वैज्ञानिक भाडा दर निर्धारण गरी लागु गर्ने मेयर आलेको भनाई छ । उनले सबैको सहमतिमा भाडा दर तोकेर चाडै समस्या समाधान गर्न पहल गर्ने पनि बताए । भोजपुर नगरपालिकाकी पुर्व उपमेयर ममिता राईले पनि टेम्पु चालकहरूले बढी भाडा लिने गरेको गुनासो आउने गरेको बताइन ।

उनले भनिन “यसअघि टेम्पु व्यावसायीहरु सँगको सहमतिमा भाडा निर्धारण गरेर प्रत्येक टेम्पू भाडा दर टाँस्ने भनिए पनि त्यो लागु भएको छैन , भाडा दर नटासिसदा समेत यात्रु ठगिने गरेका छन् , यसलाई नियन्त्रण गर्न सहमति कार्यान्वयन गर्न आवश्यक छ ” । यस्तै भोजपुर नगरपालिका १ भ्रामाङका वडाध्यक्ष जीरामणी राईले कोही मारमा नपर्ने गरी भाडा तोक्नु पर्ने बताए । उनले राजनीतिक दलका प्रतिनिधि र टेम्पु व्यावसायीहरुसग भाडाका विषयमा छलफल गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । बढी भाडा लिइएको विषयमा कुरा गर्न पटक पटक फोन गर्दा नवनिर्वाचित उपमेयर निर्मला शेर्पाको भने फोन उठेन । उपमेयर शेर्पाले फोन गर्दा नउठाउने र फोन काटिदिने गरेकी छिन् ।

प्रशासनको कुरा

यता जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी बासु प्रसाद कोइरालाले यात्रु ठगिन नुहुने धारणा राखे । भाडा निर्धारण तथा ठगी नियन्त्रण गर्ने काम नगरपालिकाको भएकाले समस्या समाधानका लागि नगरपालिकाले पहल लिनु पर्ने उनको तर्क छ । नियममा प्रशासनलाई भाडा दर तोक्ने अधिकार नभएको उनले जानकारी दिए । नगरपालिकाले निर्णय गरेर आवश्यक सहयोग मागेको खण्डमा भने प्रशासन बढी भाडा लिने यातायात व्यावसायिकलाई कारबाही गर्न तयार रहेको प्रजिअ कोइरालाको भनाई छ ।