धरान । प्रदेश १ लाई ‘किरात प्रदेश’ नामकरण गर्न माग गर्दै किरात राई यायोक्खा केन्द्रीय कार्य समितिले दबावमुलक आन्दोलन सुरु गरेको छ ।
यायोक्खाले बिहीबार पत्रकार सम्मेलन गर्दै दबावमूलक कार्यक्रम सार्वजनिक गरेको हो । किरात प्रदेशका लागि असार १५ देखि २५ गतेसम्म यायोक्खाका जिल्ला कार्य समितिहरू र त्यसपछि विभिन्न राजनीतिक दलका सङ्घ र प्रदेश तहमा छलफल गरेपछि दबावमूलक कार्यक्रम सार्वजनिक गरिएको यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले बताए । यायोक्खाले पहिलो चरणमा जनप्रदर्शन, मोटरसाइकल ¥याली, मुख्यमन्त्री र प्रदेशसभा कार्यालय घेराउजस्ता कार्यक्रम सार्वजनिक गरेको छ ।
साउन २ गते मोटरसाइकल ¥यालीसहित धरानबाट इटहरी हुँदै प्रदेश राजधानी विराटनगर पुगेर मुख्यमन्त्री कार्यालय र प्रदेशसभा घेराउ गरी कोणसभा गर्ने, साउन ३ गते मुख्यमन्त्री, विभिन्न पार्टीका संसदीय दलका नेता र प्रदेशसभा सदस्यहरूको उपस्थितिमा किरात सभ्यता नामक पुस्तक सार्वजनिक गरिने यायोक्खाले जनाएको छ ।
त्यसपछि विभिन्न सामाजिक तथा जातीय संस्थाहरू, नागरिक समाज र पहिचान चाहने राजनीतिक दलहरूसँग आन्दोलनमा सहकार्य गर्न छलफल र वार्ता अघि बढाउने र किरात प्रदेश नभएसम्म निरन्तर आन्दोलनमा जाने अध्यक्ष राईले बताए । उनले किरात भूगोल, संस्कृति, सभ्यता र इतिहाससमेत भएकाले सबै राजनीतिक दलले सहमति जनाउनु पर्ने बताए ।

अध्यक्ष राईले किरात प्रदेशको विरुद्ध निर्णय गर्ने राजनीतिक दलहरूविरुद्ध ‘नो भोट’ अभियान सञ्चालन गरिने बताए । किरात राज्यका लागि विभिन्न किरातजन्य सङ्घ–सङ्गठनहरूसँग छलफल भइरहेको बताउँदै उनले सबैलाई एकजुट भएर अघि बढ्न पनि आग्रह गरे ।
यायोक्खाले १८ वर्षदेखि किरात राज्यका लागि लड्दै आएको र यो क्रममा सबै प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूलाई भेटेर ज्ञापन–पत्र बुझाउनेदेखि पटक–पटक धर्ना र आन्दोलन कार्यक्रम तथा २५ लाख हस्ताक्षरसमेत बुझाइसकेकाले यस पटकको आन्दोलन अन्तिम हुने उनले बताए ।