भोजपुर । नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताका लागि भोजपुरबाट छनौट भएका खेलाडीहरूलाई बिदाइ गरिएको छ ।
जिल्लाबाट प्रदेशका लागि छनौट भएका खेलाडीहरूलाई शनिबार बिदाइ गरिएको हो । विभिन्न ११ वटा खेलमा छनौट भएका २ सय ५० जना खेलाडीलाई भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले, विभिन्न राजनीतिक दलका प्रतिनिधिले बिदाइ गरेको जिल्ला खेलकुद विकास समितिका सदस्य–सचिव ग्याल्जेन शेर्पाले बताए ।
उसु, बक्सिङ, एथलेटिक्स, कराते, ब्याडमिन्टन, आर्चरी, हेन्डबल, टेबलटेनिस, बुद्धिचाल, आइटिएफ र तेक्वान्दो खेलाडीलाई बिदाइ गरिएको हो ।
खेलाडी छनौट भदौ २ गतेदेखि ७ गतेसम्म रिमाचुङ एजुकेसन एन्ड स्पोर्ट्स एकेडेमीमा गरिएको थियो । खेलाडीले भदौ २९ गतेदेखि प्रदेशमा हुने प्रतियोगितामा भाग लिने जनाइएको छ ।