सुनसरी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुनसरीमा २ सय १२ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यतालिकाअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार प्रतिनिधिसभातर्फ ९५ जना र प्रदेशसभातर्फ १ सय १७ जनाले मनोनयन दर्ता गराएका हुन् ।
दुई उपमहानगरपालिका, चारवटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको सुनसरीमा प्रतिनिधिसभातर्फ चार र प्रदेश सभातर्फ आठवटा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार चारवटा क्षेत्र रहेको सुनसरीमा प्रतिनिधिसभातर्फ ९५ जना र प्रदेशसभा (क) तर्फ ६२ जना र प्रदेशसभा (ख) तर्फ ५५ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत कृष्ण पौडेलले जानकारी दिए ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ २० जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा (क) तर्फ १५ जना र (ख) तर्फ १४ जना गरी जम्मा ४९ जनाले उम्मेदवारी दिएका छन् । यस्तै सुनसरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ २७ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभा (क) तर्फ २० जना र (ख) तर्फ १० जना गरी जम्मा ५७ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ २३ जना र प्रदेशसभा (क) तर्फ १४ जना र (ख) तर्फ १८ जना गरी जम्मा ५४ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ २५ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभा (क) तर्फ १४ जना र प्रदेशसभा (ख) तर्फ १३ जना गरी जम्मा ५२ जनाले उम्मेदवारी दिएका छन् ।
सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदको लागि नेपाली काङ्ग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मनोनयन दर्ता गराएका छन् भने नेकपा (एमाले)का नेता जगदीशप्रसाद कुशियैतले उम्मेदवारी दिएका हुन् । उनीहरूले सुनसरी सदरमुकाम इनरुवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय शिक्षा तालिम केन्द्रमा सयौंको सङ्ख्यामा रहेका नेताकार्यकर्ताको उपस्थितिमा मनोनयन दर्ता गराएका थिए ।

वर्तमान शेरबहादुर देउवा सरकारमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि सुनसरी क्षेत्र नम्बर ४ बाट २०७४ सालको निर्वाचनमा विजयी भएका व्यक्ति हुन् । नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सदस्य तथा वर्तमान देउवा सरकारको प्रवक्तासमेत हुन् नेता कार्की । यसैगरी सुनसरी क्षेत्र नम्बर ४ (क) मा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सदानन्द मण्डल र (ख) बाट नेपाल मुस्लिम सङ्घ प्रदेश नम्बर १ का सभापति डा.इसराइल मन्सुरीलेसमेत प्रदेशसभा सदस्य पदको लागि मनोनयन दर्ता गराएका छन् ।
यस्तै नेकपा (एमाले)को तर्फबाट कार्कीको विरुद्धमा उम्मेदवारी दिएका कुशियैत सुनसरी क्षेत्र नम्बर ४ (क) बाट २०७४ सालको निर्वाचनमा विजयी भई तत्कालीन शेरधन राईको प्रदेश सरकारमा उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री भएका थिए । यसैगरी सुनसरी क्षेत्र नम्बर ४ (क) तर्फबाट नेकपा (एमाले)को समर्थनमा जनता समाजवादी पार्टी नेपालका नेता पर्शुराम बस्नेतले उम्मेदवारी दिएका छन् भने (ख) मा केही समयअगाडि नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका अब्बास अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।
सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेसबाट विजयकुमार गच्छदारले पुनः प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका छन् भने प्रदेशसभा (क) मा नेपाली काङ्ग्रेस, नेकपा (एस)को समर्थनमा नेकपा (माओवादी केन्द्र)की सरस्वती पोखरेलले उम्मेदवारी दिएकी छन् भने (ख) तर्फ नेपाली काङ्ग्रेसका विन्देश्वर यादवले उम्मेदवारी दिएका छन् । यस्तै २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा सदस्य पदमा दुईपटक गच्छदारसँग झिनो मतान्तरले पराजित नेकपा (एमाले) नेतृ भगवती चौधरीले सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
यस्तै सुनसरी क्षेत्र नम्बर ३ प्रदेशसभा (क) तर्फ नेकपा (एमाले)का रोहितकुमार कार्की र प्रदेशसभा (ख) तर्फ एमालेकै रामदेव यादवले उम्मेदवारी दिएका छन् । त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदको लागि नेपाली काङ््ग्रेसको तर्फबाट पुनः सीताराम मेहताले उम्मेदवारी दिएका छन् भने प्रदेशसभा (क) तर्फ नेपाली काङ्ग्रेस पार्टीको समर्थनमा केही दिनअगाडि नेकपा (माओवादी) प्रवेश गरेका इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी र (ख) तर्फबाट नेपाली काङ्ग्रेसका नेता राजीव कोइरालाले पुनः उम्मेदवारी दिएका हुन ।
यस्तै सुनसरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदको लागि नेकपा (एमाले)का भीमप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् भने प्रदेशसभा (क) तर्फ नेकपा (एमाले)का रेवतीरमण भण्डारी र (ख) तर्फ रामप्रसाद महतोले उम्मेदवारी दिएका छन् । यसैगरी सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदको लागि नेकपा (एमाले)को समर्थनमा जनता समाजवादी पार्टी नेपालका अशोककुमार राईले उम्मेदवारी दिएका छन् भने प्रदेशसभा (क) तर्फ नेकपा (एमाले)का रमेशकुमार बस्नेत र (ख) तर्फ विजयकुमार राईले उम्मेदवारी दिएका छन् ।
यस्तै सुनसरी क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसको समर्थनमा नेकपा (माओवादी केन्द्र) का मुक्सामहाङ सुब्बाले प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका छन् भने प्रदेशसभा (क) तर्फ नेपाली काङ्ग्रेसका उमेश थापा र (ख) तर्फ नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको समर्थनमा नेकपा (एस)का रेवतीरमण राईले उम्मेदवारी दिएका छन् । यता कम्युनिष्टको पकड भएको क्षेत्र मानिएको सुनसरी क्षेत्र नम्बर १ मा नेकपा (एमाले)ले आफ्नो उम्मेदवारी नउठाएपछि नेकपा (एमाले)का नेता मनोजकुमार मेन्याङ्वोले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।