धरान । १७ औँ ललित–अम्बर डिपो कपअन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतियोगितामा धरान लिगामेन्ट विजयी बनेको छ ।
बिहीबारको खेलमा धरान लिगामेन्टले हिमशिखर तरहरालाई सडनडेथमा ४–३ गोलअन्तरले हराएको छ । निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत दुवैतर्फबाट बराबर भएपछि सडनडेथबाट नतिजा आएको हो । तेस्रो बनेको लिगामेन्टलाई शुक्रबार समापन कार्यक्रममा पुरस्कार दिइँदै छ ।
यता बिहीबार नै सम्पन्न दिलकुमार प्लेट च्याम्पियनको उपाधि एक्वा स्कुलले उचालेको छ । वराहलाई १–० गोलले हराउँदै उपाधि जितेको हो । खेलमा एक्वाका ससिम राईले निर्णायक गोल गरे ।
मुख्य प्रतिस्पर्धाको नकआउट चरणमा पराजित भएकाहरूलाई दिलकुमार प्लेट च्याम्पियन खेलाइँदै आएको छ । विजेताले नगद ३ हजार र उपविजेताले नगद २ हजार रुपैयाँसहित ट्रफी पाउँछन् । मुख्य प्रतिस्पर्धाको फाइनल खेलमा पुलिस स्कुल र इस्टर्न एकेडेमीबीच भिडन्त हुँदै छ ।