विराटनगर ।  ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि विराटनगरस्थित डनबस्को स्कुलले जितेको छ ।

विराटनगरस्थित सहिद मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै डनबस्को स्कुलले उपाधि जितेको हो । उपाधिसँगै डनबस्को स्कुलले २ लाख ५० हजार मूल्य बराबरको रनिङ शिल्डसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

पहिलो हाफसम्म गोलरहित खेल बराबरी भएको थियो । खेलको दोस्रो हाफमा एकतर्फी खेल पस्केको डनबस्कोको लागि ४५ औँ मिनेटमा निकुस खतिवडाले गरेको गोल नै निर्णायक बन्यो । उनले डिबक्सभित्रबाट गरेको प्रहारले चाली चुमेको थियो ।

फाइनल खेलमा विधागततर्फ पनि डनबस्को स्कुलको वर्चस्व कायम रह्यो । प्रतियोगिताको बेस्ट मिडफिल्डर डनबस्को स्कुलका प्रशान्त खड्का घोषित भए । बेस्ट डिफेन्डर डनबस्कोकै एनएस अधिकारी, बेस्ट गोलकिपर डनबस्कोका नैतिक बस्नेत, बेस्ट  फरवार्ड निकेश खतिवडा र बेस्ट कोच डनबस्कोका बिक्की कार्की भए ।

यस्तै बेस्ट प्लेयर अफ टुर्नामेन्ट मदरल्याण्ड एकाडेमीका प्रकाश शर्मा भए भने अनुशासित टिम विराट शिक्षा निकेतन स्कुल भयो । इमरजिङ प्लेयर अर्पण स्कुलका दिवस खतिवडा घोषित भएका छन् ।

प्रतियोगिताको विजेता खेलाडीहरूलाई पुरस्कार र शिल्ड प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, प्याब्सन मोरङका अध्यक्ष शितला सुब्बा, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष इन्द्रकुमार राई, उपाध्यक्ष अर्जुन श्रेष्ठ, कार्यक्रम संयोजक नन्दलाल मण्डल, हीरा थापा, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डङ्गोल, अभिभावक सङ्घ प्रदेश १ का अध्यक्ष देवी पन्थी, विराट गोल्ड कप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, हिसान प्रदेश १ का अध्यक्ष ज्ञानबहादुर खड्कालगायतले वितरण गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला रहेका थिए । प्याब्सन विराटनगरको आयोजनामा पुस १ गतेदेखि भएको प्रतियोगितामा विराटनगरका २८ वटा निजी विद्यालयहरूको सहभागिता रहेको थियो ।

मैत्रीपूर्ण खेल बराबरी
प्याब्सन विराटनगरको आयोजनामा नेपाल पत्रकार महासङ्घ मोरङ र प्याब्सन विराटनगरबीच भएको एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता बराबरी भएको छ ।

सहिद मैदानमा शुक्रबार भएको खेलमा २–२ गोलको बराबरी भएको हो । नेपाल पत्रकार महासङ्घ मोरङको तर्फबाट पत्रकार अनिल श्रेष्ठले दुई गोल गरेका थिए । प्याब्सन विराटनगरको तर्फबाट इन्द्र राई र यादव प्रधानले १–१ गोल गरेका थिए । मैत्रीपूर्ण खेलको म्यान अफ द म्याच पत्रका अनिल श्रेष्ठ घोषित भए ।