धरान । धरान–१५ को युनाइटेड गोर्खा एकेडेमीले हरेक वर्ष झैँ यस वर्ष पनि अन्तर विद्यालयस्तरीय ‘युजीए भलिबल कप’ प्रतियोगिता आयोजना गर्ने भएको छ । 

बिहीबार पत्रकार सम्मेलन गरी नवौँ युनाइटेड गोर्खा एकेडेमी भलिबल प्रतियोगिता गर्ने जनाएको हो । प्रतियोगिता माघ ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने आयोजक युजीएका प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिए । कोरोना महामारीका कारण स्थगित भएको युजीए कपलाई पुनः निरन्तरता दिइएको प्रिन्सिपल शेर्पाले जानकारी दिए । युजीए कपमा छात्रछात्राकै टिमबीच प्रतिस्पर्धा गराउँदै आएको छ ।

प्रतियोगिताको विजेताले जनही २३ हजार रुपैयाँ र ट्रफी पाउनेछन् । त्यस्तै दोस्रो हुने टिमले जनही नगद १८ हजार र तेस्रो हुने टिमले जनही १५ हजार रुपैयाँसहित मेडल तथा प्रमाण–पत्र पाउने उनले जानकारी दिए ।

यस्तै व्यक्तिगत पुरस्कारहरू पनि प्रदान गरिएको शिक्षक सन्तोष पोखरेलले जानकारी दिए । यस्तै अनुशासित टिम र उत्कृष्ट टिम प्रशिक्षकलाई नगदसहितले पुरस्कृत गरिने उनले जानकारी दिए ।

आठौँ प्रतियोगिताअन्तर्गत छात्रतर्फको उपाधि इटहरीस्थित सयपत्री स्कुलले जितेको थियो भने छात्रातर्फ इटहरीकै नमुना स्कुलले जितेको थियो । युजीएको भलिबल कोर्टमा प्रतियोगिता हुँदै आएको छ ।