धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जुकुमारी कार्कीले आफूलाई सामाजिक सञ्जालमार्फत् भ्रष्टाचार गरेको भन्दै गलत मनसायले चरित्र हत्या गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । उनले सोमबार पत्रकार सम्ेमलन गरेर नगर क्षेत्रभित्रका ३६ वटा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्दा नगरप्रमुख ध्रुव रायाले भ्रष्टाचार गरेको भन्दै सामाजिक सञ्जालहरूमा गलत अफवाह फैलाई आफ्नो चरित्र हत्या गरेको बताएकी हुन् ।

पत्रकार सम्मेलनमा उपप्रमुख कार्कीले भनिन्, ‘मैले इन्टरनेट सेवा जडान गर्दा गलत मनसायका साथ काम गरेको प्रमाण भेटिएमा म जस्तोसुकै परिणाम भोग्न तयार छु । तर, प्रमाण र आधार विना व्यक्ति तथा संस्थाको चरित्र हत्या हुने गरी झुठा अफवाह फैलाउनु गैह्र कानूनी मात्र हैन, निन्दनीय र खेदजनक कार्य भएको छ ।’

उनले कम्पनीसँग आवश्यक समन्वय गरेर विद्यालयमा इन्टरनेट जडान गर्दा धन्यवाद दिनुपर्नेमा उल्टै नगरपालिकाको समेत बदनाम हुने काम गरिएको उनले बताइन् ।

नेपाल सरकार तथा दूरसञ्चार प्राधिकरणले देशको सबै ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम अनुरूप उपप्रमुख कार्कीले ३६ थान ब्रोडब्याण्ड इन्टरनेट सेवा सञ्चालन गर्नको लागि सिफारिस गरेकी थिइन् । उनले इन्टरनेट सेवा उपलब्ध गराउन साङ्ग्रिला इन्फरमेटिक्स प्रा.लि. अनामनगर काठमाडौंलाई गत माघ २४ गते पत्र लेखेकी थिइन् । त्यसबेला नगरप्रमुख राया भने कार्यालयमा अनुपस्थित थिए ।

यता नगरप्रमुख रायाले उपप्रमुखले कार्यालयको काम कारबाही अघि बढाउँदा प्रमुखसँग समन्वय र सहकार्य नगरेपछि आफू नगरपालिकामा १० बजे पुगेर पनि निस्किएको बताए । उनले भने, ‘मैले उपप्रमुखलाई कार्यवाहक पनि दिएको थिइनँ, महालक्ष्मी नगरका ५३ वटा विद्यालयहरूमध्ये ४२ वटामा नेपाल टेलिकमको यसअघि नै फाइबर जडान भैसकेको थियो, बाँकी ११ वटा आधारभूत विद्यालयमा मात्र बाँकी थियो ।’ यस्ता कुरामा कार्यपालिकाको निर्णय विना समन्वय नगरी उपप्रमुख कार्कीले आफूखुसी गरेकाले नगरपालिकाको प्रमुखको हैसियतले इन्टनेट वितरणको काम रोकिएको बताए ।

मौखिक सम्झौतामा प्रतिडिभाइस जडानसहितको मूल्य बजार मूल्यभन्दा अत्यधिक बढी ७३ हजार ९ सयले लिने शर्त भित्रीरूपमा सहमति गरिएको दाबी रायाको छ । जडान शुल्क बजार मूल्यभन्दा बढी उल्लेख गरेर ३६ वटा विद्यालयमध्ये ३१ वटाको २२ लाख ९० हजार ९ सय रुपैयाँ आर्थिक दायित्व नगरपालिकालाई आउने देखिएपछि रोकेको प्रमुख रायाको भनाइ छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलकण्ठ विश्वकर्माले इन्टरनेट जडानको विषयमा कार्यालयलाई आधिकारिक जानकारी नभएको बताए ।