वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ बगुवाकी स्तन क्यान्सर पीडित महिलाले सहयोगको याचना गरेकी छन् ।
४८ वर्षीया मेनुका बस्नेतले आर्थिक सहयोगको याचना गरेकी हुन् । चार महिनाअघि दाहिने स्तनमा गाँठो देखिएपछि बस्नेतलाई क्यान्सर भएको पत्ता लागेको भए पनि खर्चको अभावमा शल्यक्रिया हुन सकेको छैन ।
स्तन दुखेपछि स्थानीय चतरा अस्पतालमा जचाउँदा चिकित्सकले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो । प्रतिष्ठानमा जँचाउँदा दायाँ स्तनमा क्यान्सर भएको चिकित्सकले पुष्टि गरेको छ । दाहिने छाती, हातको कुम पछाडि र ढाडमा जलन हुने गरेको पीडित महिलाले बताइन् । ‘छिटो उपचार गर्न पाए पीडाबाट मुक्त हुने थिए’ –पीडित महिलाले भनिन् ।
परिमार्जित रेडिकल मास्टेक्टोमी (एमआरएम) को शल्यक्रियाको एक हप्ताभित्रमा गरिसक्नुपर्ने तर आर्थिक अभावको कारणले उपचार गराउन नसकिएको पति शेरबहादुर बस्नेतले बताए । शेरबहादुरले दैनिक ज्यालामजदुरी गरी परिवार पाल्दै आएका छन् ।