धरान । जापानमा प्रख्यात एनिमेसन र कमिक्स मिश्रित ओटाकु जात्रा धरानमा पनि गत वर्षदेखि सुरु भएको छ ।
इन टोडर्स्को आयोजनामा बुधबार सैनिक भवनमा ओटाकु मेला तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ । ओटाकु एक प्रकारको कमिक्स र एनिमेसन मिश्रित पोसाक तथा सामग्रीमा सजिएर युवायुवतीहरू प्रदर्शनमा उत्रिन्छन् । सैनिक भवनमा सहभागी युवायुवतीहरूले ओटाकु पोसाकमा सजिएका थिए । यसबीचमा साङ्गीतिक कार्यक्रम पनि गरिएको थियो ।
इन टोडर्सका नेतृत्वकर्ता रुसल श्रेष्ठका अनुसार ओटाकुमा प्रयोग गरिने विभिन्न सामग्रीहरूका स्टल राखिएका थिए । उनले भने, ‘यो जापानमा एकदमै प्रख्यात छ, गत वर्षदेखि धरानमा पनि सुरु गरेका छौँ ।’
यसबीचमा मोबाइल प्रतिस्पर्धा पनि गरिएको छ । स्टलमा घरमै निर्माण गरिएका सामग्री, भर्खरै व्यवसाय सुरु गरेकाहरूको सामग्रीहरू राखिएका थिए । इन टोडर्सले वर्षभरिमा दुईदेखि तीन पटकसम्म ओटाकु आयोजना गर्ने लक्ष्य लिएको छ । ओटाकुमा हास्य र पप संस्कृति मिसिएको हुन्छ । काठमाडौँतिर भने ओटाकु जात्रा नै लाग्ने गरेको छ ।