धरान । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर साइक्लिङ धरानले सचेतनामूलक साइकल र्याली आयोजना गरेको छ ।

बुधबार धरानको भानुचौकबाट सुरु भएको ¥यालीले करिब ६ किलोमिटर यात्रा गरेको साइक्लिङ धरानका संयोजक कृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार धरानको भानुचौकस्थित घण्टाघरको परिक्रमा गर्दै भोटेपुल, बुद्धचोक, क्याम्प गेट, रत्न चोक, मङ्गलबारे चोक, कल्याण चोक, स्वस्तिक चोक, चतरालाइन हुँदै छाताचोक सिंहदेवी चोक, पुरानो बजार, माछाभौडी हुँदै भानुचोकमा गई र्याली टुङ्गिएको थियो । कार्यक्रममा विराट मेडिकल कलेजको धरानस्थित शाखाले र्यालीमा सहभागीलाई ल्याव सेवा र ओपिडी सेवामा पनि २० प्रतिशत छुटको व्यवस्था गरिदिएको छ ।

कलेजकी डा. शिल्पी महतोले महिला स्वास्थ्यसम्बन्धी जानकारी पनि गराएकी थिइन् । महिला सञ्जालकी अध्यक्ष सपना राईले र्याली आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरिन् ।

यसक्रममा धरान १६ निवासी सुस्मा श्रेष्ठले महिलाहरूलाई साताका दुई दिन निःशुल्क रूपमा साइक्लिङ सिकाउने उद्घोष गर्दै बुधबारबाटै सुरुवात गरिन् । उनले आगामी वर्ष पुरुषसरह नै महिला राइडर हुने प्रतिबद्धता गरेकी छन् । र्यालीमा करिब ५६ जना महिला र पुरुष सहभागी भएका थिए ।