मोरङ । नगर बस सञ्चालनका लागि विराटनगर महानगरपालिकाले दोस्रो पटक रुट परीक्षण गरेको छ ।

बिहीबार कुन रुटमा कति क्षमता र साइजका बस सञ्चालन गर्न सहज हुन्छ भनेर परीक्षण गरिएको महानगरका मेयर नागेश कोइरालाले बताएका छन् । नगर बसमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले निःशुल्क आवागमन गर्न पाउने बताइएको छ । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने मेयर कोइरालाले बताए ।

एसी सुविधासहितको बस सञ्चालन गर्ने महानगरको तयारी छ । परीक्षणका क्रममा सवारी चाप, जनघनत्व, घुम्ती तथा मोडहरूमा आइपर्ने समस्यालगायतका विषयमा समेत अध्ययन हुने बताइएको छ ।

महानगरले मिलन चोक, ढाट, इक्राही, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ । सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो ।

प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी गरिएको छ । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणमा पुगेको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताएका छन् । यसअघि फागुन १८ गते पनि रुट परीक्षण गरिएको थियो ।