धरान । किरातखम्बुवान साझा पार्टीले हालै नामकरण भएको कोशी प्रदेश खारेज गरी किरात प्रदेश घोषणा गर्न माग गरेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष भूपी कोयी राईले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीले किरात प्रदेशको आवाज उठाउँदै आएकोमा प्रदेश सभाले कोशी प्रदेश घोषणा गरेको भन्दै आपत्ति जनाएका छन् ।

पार्टीको फागुन २३ मा बसेको स्थायी समिति बैठकले यो प्रदेशलाई किरात प्रदेश नामकरण गर्नका लागि आधार र राजनीतिक जग बलियो भए पनि षड्यन्त्रमूलक ढङ्गबाट कोशी प्रदेश नामकरण गरिएको ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले कोशी प्रदेशका पक्षमा मतदान गर्ने सांसद्हरूलाई पहिचानविरोधी र गद्दार भन्दै उनीहरूको निगरानीसमेत गर्ने विज्ञप्तिमा उल्लेख छ । प्रदेशको नामकरणमा किरात प्रदेशबाहेक अन्य कुनै शब्द दायाँ–बायाँ गर्न नहुने उल्लेख गर्दै विज्ञप्तिमा किरात प्रदेशका लागि सङ्गठित हुन आह्वानसमेत गरिएको छ ।