धरान । धरानको पानीको समस्यालाई नीतिगत रूपमा सुधार गर्न धरानको नगर प्रमुखलाई पन्ध्र दिने अल्टिमेटम दिइएको छ ।

वातावरणसँग आबद्ध संस्थाले नगरप्रमुख हर्कराज राईलाई पन्ध्र दिने अल्टिमेटम दिइएको सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए । धरानको पानी र पर्यटनको क्षेत्रमा काम गर्दै आएको वातावरण तथा पर्यटन विकास केन्द्र (सेड नेपाल) ले नगरप्रमुखलाई पाँचबुँदे अल्टिमेटमसहितको ज्ञापन–पत्र बुझाएको हो । ज्ञापन–पत्रमा चारकोसे जङ्गल क्षेत्रमा फालिने फोहोरलाई आगो लगाई प्रदूषण गरिरहेकाले त्यसलाई तुरुन्त बन्द गर्न माग गरिएको छ । नगरप्रमुख राईले नयाँ डम्पिङ साइटको खोजी भइरहेको र त्यहाँ फोहोर टिप्न नदिनका लागि गेट निर्माण गर्न लागिएको बताए ।

धरानको जलाधार क्षेत्रहरूको संरक्षण गर्न अधिकार सम्पन्न एकीकृत जलाधार संरक्षण समितिको गठन गरी सीमाङ्कन गर्नु पर्ने, जलाधार क्षेत्रको दिगो संरक्षणको लागि वातावरण सेवा भुक्तान प्रणाली लागू गर्नुपर्ने उल्लेख छ । धरान खानेपानी व्यवस्थापन बोर्डको सञ्चालक समितिमा राजनीतिक भागबण्डाको आधारमा नियुक्ति हुने प्रथा बन्द गर्नुपर्ने, बोर्डको महाप्रबन्धक र कर्मचारीहरूको नियुक्ति लोकसेवा आयोगबाट वा बोर्डको कार्यविधिअनुसार हुनुपर्ने माग राखिएको छ । अध्यक्ष श्रेष्ठले आईयुसीएनको आर्थिक सहयोगमा प्रकाशित एकीकृत जलाधार संरक्षण नामक पुस्तक नगरप्रमुखलाई हस्तान्तरण गरेका थिए ।

यसैबीच विश्व पानी दिवसको अवसरमा धरान उपमहानगरपालिकाले पहिलो पटक सचेतना र्याली निकालेको छ । र्याली छाताचोक, पुरानो बजार हुँदै भानुचोक पुगेर नगरपालिकामा आई कोणसभामा परिणत भएको थियो । यसैबीच पानीसम्बन्धी विषयमा क्याम्पसस्तरीय वक्तृत्वकला प्रतियोगिता पनि गरिएको थियो ।