इनरुवा । इनरुवा नगरपालिकाको कार्यालयले नगरक्षेत्र भित्रका कुखुरापालक किसानलाई लक्षित गरी बर्डफ्लु सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
नगर पशु शाखाले आयोजना गरेको कार्यक्रममा बर्डफ्लुको जोखिमसँगै अपनाउनु पर्ने सावधानी र सचेतना बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा सीमापारिबाट हुने पन्छीजन्य कारोबारले नगरक्षेत्रमा बर्डफ्लुको जोखिम बढाउन सक्ने भएकाले त्यसतर्फ अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराइएको थियो ।
पशु चिकित्सक डाक्टर राजकुमार यादवले सहभागी किसानहरूलाई प्रशिक्षण दिएका थिए । उनले नगरक्षेत्रभित्र रहेका कुखुरापालक तथा पन्छीजन्य कारोबारमा संलग्न रहँदै आएका किसान तथा फार्मलाई व्यवसाय प्रवद्र्धनमा प्रोत्साहन गर्ने गरी नगरपालिका अघि बढेको बताए ।
उनले इनरुवाको हकमा खुला सीमा बर्डफ्लु फैलन सक्ने प्रमुख कारक रहेकाले सतर्कता र सावधानी आवश्यक रहेको बताए । जसका लागि स्वयम् कुखुरापालक किसानसँगै पन्छीजन्य कारोबारमा संलग्नहरू सचेत रहन आवश्यक रहेकोमा उनले जोड दिए । उनले नगरमा बर्डफ्लु नदेखिए पनि सावधानीको खाँचो रहेको बताए ।
पशु चिकित्सक यादवले पशु शाखा नगरभित्र रहेका मासु पसल व्यवस्थित गर्नेतर्फसमेत लागिपरेको बताए । जसका लागि ठोस योजना बनाएर अघि बढ्ने गरी तयारीसमेत थालिएको उनले बताए ।
नगरभित्र रहेका कुखुरापालक किसान, कुखुरा फार्म सञ्चालक, व्यवसायीसँगै नगरका सबै वडाका जनप्रतिनिधिको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको पशु प्राविधिक पवनकुमार खतिवडाले बताए । खतिवडाले कार्यक्रममा किसान तथा व्यवसायीका समस्या र गुनासा सुन्नुका साथै परामर्शसमेत प्रदान गरिएको बताए ।