भद्रपुर । नेपाल मगर सङ्घ झापाले मेचीनगरमा मातृभाषा, मगर लिपिमा प्रौढ कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । मेचीनगर–३ स्थित बलभद्र माविमा मगर भाषामा प्रौढ कक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

सङ्घका झापा अध्यक्ष विकास थापा मगरले बलभद्र माविमा मातृभाषा, मगर लिपिमा प्रौढ कक्षा सञ्चालन गर्ने तयारी गरेको बताए । उनका अनुसार तत्कालै विद्यालयको एउटा कोठामा मगर भाषामा प्रौढ कक्षा सञ्चालन गरिनेछ । 

एक हप्तापछि विद्यालयको एउटा कोठामा बच्चादेखि वृद्व–वृद्वालाई पढाउने तयारी गरिएको जानकारी दिए । स्थानीय सरकार, जिल्ला शिक्षा तथा समन्वय समिति र जिल्ला प्रशासन कार्यालय झापामा विधिवत दर्ता भएपछि बलभद्र माविमा कक्षा १ देखि मगर भाषामा पढाइ सञ्चालन गरिने अध्यक्ष थापाले जानकारी दिए । यसैबीच वडा नम्बर ३ मा अर्पण बलमपाकी मगरको नेतृत्वमा नेपाल मगर सङ्घ वडा समिति गठन भएको छ ।

अर्पण बलमपाकी अध्यक्ष रहेको समितिको उपाध्यक्षमा प्रेमबहादुर राजा, सचिवमा अर्जुन बलमपाकी  मगर, सहसचिवमा ढङ्गाली मगर र कोषाध्यक्षमा रजुमाया थापा मगर सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शेरबहादुर समाल मगर, रञ्जु सारु मगर, नारायण बलमपाकी मगर, आइस्मा पिठाकोटे, पुजा बलमपाकी मगर चयन भएका छन् । २ जनापछि पहिलो वैठक मनोनित गरिने बताइएको छ ।

मगर समुदायका अगुवा राजेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर सङ्घ झापाका अध्यक्ष विकास थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि झापा अध्यक्ष थापा, मगर सङ्घका नेताहरु मणिराज लुङ्गेली मगर, ज्ञानबहादुर मगर, काजी तामाङ, चित्र मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।