पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ नम्बर वडा कार्यालय आङसराङले दलित समुदायका नागरिकलाई फिल्टर बितरण गरेको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ४९ घरधुरीलाई पानी सुद्धिकरण गर्ने फिल्टर बितरण गरिएको वडा सचिव जय बहादुर तामाङले बताए ।

वडाले गत आर्थिक वर्षको ५० हजार  र चालु आर्थिक वर्षको ५० हजार गरी १ लाख रुपैयाँमा ४९ वटा फिल्टर खरिद गरेको थियो । लक्षित वर्गको रकमबाट वडाका दलित समुदायका नागरिकलाई फिल्टर बितरण गरिएको वडाअध्यक्ष नारायण प्रसाद आङ्देम्बेले बताए । 

गत आर्थिक वर्षमा पनि दलित समुदायका नागरिकलाई ५ सय लिटरको ड्रम बितरण गरेको थियो । त्यस्तै यो पटक पनि पानी सुद्धिकरण गर्न प्रयोग गरिने फिल्टर बितरण गरेको जनाएको छ । वडाले वर्षेनी निशुल्क ड्रम, फिल्टर र बाल्टि जस्ता अत्यावश्यक सामाग्री सहयोग गरेको भन्दै दलित समुदायका नागरिक उत्साहित भएका छन ।