पथरी । अभियान नेपालको आयोजनामा मोरङको कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा महिला उद्यमी समूहलाई १३ वटा प्रजनन् बोका वितरण गरिएको छ ।

अभियान नेपालको कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तरगत उपहार समूहको सदस्यहरुलाई प्रजनन् बोका वितरण गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी, गाउँपालिका प्रवक्त तथा वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकी, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ र वडा नं. ३ का वडाध्यक्ष गोपाल कार्कीले बोका महिला उद्यमी समूहलाई हस्तान्तरण गरेका थिए । वडा नं. १ बाट फुलबारी महिला उद्यमी समूह र लक्ष्मी महिला उद्यमी समूह, वडा नं. २ बाट प्रगति महिला उद्यमी समूह र पाथीभरा महिला उद्यमी समूह, वडा नं. ३ बाट घुरघुरा महिला उद्यमी समूह र कालि मन्दिर महिला उद्यमी समूह, वडा नं. ४ बाट हरियाली महिला उद्यमी समूह र गणेश महिला उद्यमी समूह, वडा न. ५ बाट तुलसी महिला समूह र डुम्रीघाट महिला उद्यमी समूह,वडा नं. ६ सुन्तली महिला उद्यमी समूह र पौरखी महिला उद्यमी समूह र वडा नं. ७ बाट शुक्रबारे महिला उद्यमी समूहले १३ वटा प्रजनन् विऊ बोका पाएका छन् ।

गाउँपालिकाले कोटेसन आव्हान गरी खरिद प्रक्रियाबाट खरिद गरिएको थियो । सीरोही, अजमेरी,  कोटा, तोतापुरी, गुज्री, जमुनापारी–बिटल खपारी क्रस लगाएतका जातका प्रजनन् विऊबोका खरिद गरी कानेपोखरी गाउँपालिकाको ७ वटै वडाका महिला उद्यमी समूहलाई वितरण गरिएको हो । धनपाल गाउँपालिका ३ मा रहेको युनिक लाइभष्टक इन्टरप्राइजेजबाट ६ लाख १९ हजार ६ सय ९० रुपैयामा जमुनापारी ८ सय रुपैया प्रतिकेजी र अन्य १३ सय रुपैया प्रति केजीको दरले १३ वटा विऊबोका खरिद गरिएको थियो ।

साझेदारीमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तरगत बाँकी रहेको १४ वटा उपहार समूहलाई केही समय पछि विऊबोका वितरण गरिने अभियान नेपालका प्राविधिक संयोजक अरुण योगीले बताए ।

अभियान नेपाल अन्तरगत कानेपोखरी गाउँपालिका क्षेत्र भित्र ९ वटा मूल समूह र २७ वटा उपहार समूह गठन गरिएको छ । जस अन्तरगत एउटा समूहमा २७ जना महिला सदस्य रहेका छन् । एउटा मुल समूहले ३ वटा उपहार समूह गठन गरेको छ । अभियान नेपालको आयोजनामा कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक प्राविधिक सहयोगमा महिला उद्यमीमूल समूहलाई ९ वटा विऊबोका वितरण गरि सकेको छ । प्रजनन् विऊबोकाले उपहार समूहका ३५१ जना सदस्यले यसको लाभ लिनेछन् । यस अघि वितरण गरिएको मूल समूहका २४३ जना सदस्यहरुले बोकाबाट सेवा लिने देखिन्छ ।

विहिबार गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा प्रजनन् बोका हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत विशाल बस्नेत र अभियान नेपाल कार्यक्रम संयोजक हेम श्रेष्ठ, गाउँपालिकाका पशु शाखाका प्रतिनिधिलगायतले महिला उद्यमशिलता उपहार समूहका प्रतिनिधिलाई वितरण गरेका थिए ।