विराटनगर । मोरङका खोलाहरूमा प्राकृतिक स्रोत–साधनमाथि चरम् दोहन गर्नेे दुईवटा सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केराबारी गाउँपालिका–८ स्थित खदम खोलामा प्राकृतिक स्रोतको दोहन गर्ने दुईवटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको हो ।

खदम खोलाबाट मिक्स गिट्टी निकाल्दै गरेको अवस्थामा प्रदेश नं.१ – ०२ – ००१ ख ९३८७ नम्बरको हाईवा र नम्बर नखुलेको स्काभेटरलाई इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

ती सवारीलाई आवश्यक कारबाहीका लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । केराबारी गाउँपालिका–८ स्थित खदम, मुगु खोला, सुन्दरहरैँचा नगरपालिका–५ स्थित बूढीखोला र बेलबारी–२ स्थित लोहन्द्रा खोलामा अवैध रूपमा गिट्टी, बालुवाको उत्खनन् हुने गरेको हो ।

मोरङका नदीजन्य पदार्थ ढुङ्गा, गिट्टीको चोरी(निकासी बढेर गएको पाइएको छ । त्यसैगरी पहाडी जिल्लाहरूमा पनि ढुङ्गा–गिट्टीका अतिरिक्त वनमा समेत चोरी–तस्करी बढेको पाइएको हो । तीन तहका सरकारबीच समन्वय नहुँदा अनुगमनलगायतका काम प्रभावकारी हुन सकेको छैन । जसले गर्दा करोडौँको राजस्वसमेत गुमेको छ । मोरङमा २१ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले केही दिनअगाडि गरेको अनुगमनको क्रममा अधिकांश खोला र जङ्गलछेउमा रहेका क्रसर उद्योगहरू मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको थियो । त्यसबेला अनुगमनको क्रममा तीनवटा क्रसर उद्योगलाई थप जरिबाना पनि गरिएको थियो । यही क्रसर उद्योगहरूले मोरङका खोलाहरूबाट प्राकृतिक स्रोतको चरम्रूपमा दोहन गर्ने गरेको स्थानीयको भनाइ छ ।