धरान । विश्व कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायलाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ ।

निकिला मिडिया नेटवर्क, पब्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा काठमाडौँमा गीता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करणमा नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको हो ।

डा. उपाध्यायले गीत, सङ्गीत तथा विविध विधामा १ सय ३२ विश्व रेकर्ड कायम गरेका छन् । उनका १४ उपन्यास, तीन गीति पुस्तक र १ सय ५० भन्दा बढी गीत र भिडियो सार्वजनिक भएका छन् । कार्यक्रममा विभिन्न विधाका ३७ जना उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्ड वितरण गरिएको छ । कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष, नेपाल चेम्बर्स अफ कमर्सकी उपाध्यक्ष तथा साल्ट टे«डिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई सम्मान–पत्र प्रदान गरिएको हो । 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, विशिष्ठ सङ्गीतकार तथा गायक शम्भुजित बास्कोटालगायतले श्रेष्ठलाई सम्मान प्रदान गरे ।

कार्यक्रममा द बेस्ट योङ एचिभमेन्ट अवार्ड सुनिल राणा, उत्कृष्ट पपुलर रियालिटी शोका लागि कमेडी क्लब विथ च्याम्पियन, एकेडेमिक एक्सिलेन्स अवार्डका लागि मिनिल्यान्ड इङ्लिस हाईस्कुल उत्कृष्ट नायकका लागि प्रदीप खड्का, द योङ्गेस्टअपरेशन डाइरेक्टर अफ द इयरबाट क्याप्टेन मनिषरत्न शाक्य, उत्कृष्ट रियालिटी शोका लागि द भ्वाइस अफ नेपाललाई अवार्ड प्रदान गरिएको थियो ।