विराटनगर । तीर्थयात्री बोकेर हिँडेको ट्याक्टर मोरङको रङ्गेली नगरपालिका–३ आमतोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार बिहान मन्दिरमा पूजा गर्न तीर्थयात्री बोकेर गएको ट्याक्टर दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका–५ की ६० वर्षीया वैशाखी चौधरी र सोही ठाउँकी २५ वर्षीया रीताकुमारी माझीको मृत्यु भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएको मोरङका ट्राफिक प्रहरी इन्स्पेक्टर सुनिल श्रेष्ठले जानकारी दिए । वैशाखी कुमारीको घटनास्थलमै र रीताको विराटनगरस्थित गोल्डेन अस्पतालमा दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । तेतरिया–आमतोला भित्री सडक–खण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिका–३ की २० वर्षीया जानकीकुमारी माझी, ग्रामथान–५ की ४० वर्षीया किचनीवती चौधरी, रङ्गेली–२ की सुनवर्ती चौधरी, २७ वर्षीया जितनी चौधरी, उनका छोरा ३ वर्षीय रायन चौधरी, ग्रामथान–५ की ४३ वर्षीया पूर्णसरी चौधरी, ५० वर्षीय टीकाराम माझी, विराटनगर महानगरपालिका–४ की ३५ वर्षीया सुशीला चौधरी, ५५ वर्षीय टेकनारायण माझी, ग्रामथान–५ की २६ वर्षीया अनिता माझी, ६५ वर्षीया दुखिया चौधरी, मधुराम माझी, ५० वर्षीय गुलावचन माझी, ३५ वर्षीया रीता चौधरी, २५ वर्षीया सुनिता भगत, रीताकुमारी माझी, उनका छोरा ५ वर्षीय रितेष माझी र ग्रामथान–६ का ४३ वर्षीय सत्तुलाल माझी घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरूको रङ्गेली र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनालगत्तै ट्याक्टर चालक ग्रामथान–५ का अन्दाजी ३१ वर्षीय बालक माझी फरार बनेका छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । रङ्गेलीमा रहेको सन्सारीमाई मन्दिरमा पूजाका लागि तेतरियाबाट हिँडेकाहरू सवार ट्याक्टर दुर्घटनामा परेको हो ।