विराटनगर  । त्रिभुवन विश्व विद्यालयले लिएको ब्याचलर इन इन्फरमेसन म्यानेजमेन्ट ९बीआइएम० तेस्रो सेमेस्टरको परीक्षामा नेपाल टप गर्ने विराटनगरस्थित हिमालय दर्शन कलेजका छात्रा आस्मा तुलाधर र सपना झालाई सम्मान गरिएको छ । 

हिमालय दर्शन कलेजले आइतबार बिहान एक कार्यक्रमको बिच नेपाल टप गर्ने आस्मा र कोशी प्रदेश टप गर्ने सपनालाई नगदसहित सम्मान गरेको हो ।

 शुक्रबार प्रकाशित भएको नतिजा अनुसार आस्माले बीआइएम तेस्रो सेमेस्टरको परीक्षामा ४ जिपिए ल्याएर नेपाल टप गरेकी छिन् । यस्तै सपनाले ३।९४ जिपिए ल्याएर कोशी प्रदेश टप गरेको कलेजले दाबी गरेको छ । टप गर्ने दुवै विद्यार्थीले प्लस टु विराटनगरस्थित शिक्षा दीप कलेजबाट उत्तीर्ण भएर हिमालय दर्शनमा बीआइएम पढ्दै आएका हुन् । उनीहरूले पहिलो र दोस्रो सेमेस्टरमा पनि उत्कृष्ट नतिजा  ल्याएर उत्तीर्ण भएका थिए । 

नेपाल टप गर्ने छात्रा आस्मालाई नगद २१ हजार र प्रदेश टप गर्ने सपनालाई कलेजले नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरेको गरेको थियो । आस्माको बुबा वीरेन्द्रराज तुलाधर र सपनाको अभिभावक रुपेश झालाई पनि सम्मान गरियो । उनीहरूलाई कलेज प्रमुख भरत सापकोटा, संस्थापक निर्देशकहरू शैलेन्द्रराज शिवाकोटी, ज्ञानबहादुर खड्का, भेषराज पोखरेललगायतले सम्मान गरेका थिए ।  

कार्यक्रममा बोल्दै आस्माले मेहनतको कारणले आज आएर सफलता पाएको बताइन् । कलेजका शिक्षकहरूले दिएको गुणस्तरीय शिक्षा व्यवहारमा उतारेको कारणले आज सफलता मिलेको उनले बताइन् । यो सफलताको श्रेय शिक्षक र अभिभावकहरूलाई दिने उनले बताइन् । 

कार्यक्रममा कलेज प्रमुख भरत सापकोटाले गुणस्तरीय शिक्षामा हिमालय दर्शन कलेजले कुनै पनि कसुर बाँकी नराखेको बताए । गुणस्तरीय शिक्षा सँगै रोजगारमूलक शिक्षा दिन हिमालय दर्शन कलेज अगाडी रहेको उनले बताए । कार्यक्रममा कलेजका संस्थापक निर्देशक शैलेन्द्र राज शिवाकोटीले बीआइएममा नेपाल टप र प्रदेश टप गर्ने विद्यार्थीलाई सफलताको शुभकामना दिए । कार्यक्रममा हिमालय दर्शन कलेजका संस्थापक निर्देशक ज्ञानबहादुर खड्का, भेषराज पोखरेल, कलेजका शिक्षकहरूको सहभागिता रहेको थियो ।