धनकुटा । धनकुटा नगरपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताहको अवसर पारेर नगरवासीलाई सचेतना जगाउने उद्देश्यले मङ्गलवार धनकुटामा र्याली आयोजना गरेको छ ।
‘आफ्नो वडामा गई व्यक्तिगत घटना दर्ता गरी घटना दर्ता सप्ताह सफल पारौँ’ भन्ने मूल नाराको साथ आयोजना गरिएको सचेतना र्याली धनकुटाको मदन चोकबाट सुरु गरिएको थियो । विभिन्न नारा लेखिएको प्ले कार्ड सहित र्यालीमा सहभागीहरू धनकुटा बजारको विभिन्न भागको परिक्रमा गरेका थिए । बजार परिक्रमा पश्चात् नगरपालिकाको सभा हलमा पुगेर कोणसभा आयोजना गरिएको थियो ।
र्यालीमा नगरवासीहरु,जनप्रतिनिधिहरू, सङ्घ, संस्थाका अगुवाहरू, नगरपालिकाको विभिन्न वडा र कार्यालयमा कार्यरत कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । धनकुटा नगरपालिकाको वडा नं.६,७ र ८ ले संयुक्त रूपमा र अन्य वडाहरूमा वडा स्तर मै व्यक्तिगत घटना दर्ता सप्ताहको अवसर पारेर सचेतनामूलक र्याली आयोजना गरिएको उप–प्रमुख भिमा खनाल ९शान्ता० ले बताइन ।
कोणसभालाई सम्बोधन गर्दै खनालले भनिन्–‘व्यक्तिगत घटना दर्ता सप्ताह राष्ट्रिय कार्यक्रम अनुसार धनकुटा नगरपालिकाको १० वटै वडामा प्रचार प्रसारको विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।’ उनले धनकुटा नगरपालिकाले व्यक्तिगत घटना दर्ता किन भन्ने विषयमा नगरवासीलाई जानकारी गराउने उद्देश्यले पर्चा समेत छापेर वैशाख १ गते देखी आगामी ७ गतेसम्म निरन्तर प्रचार प्रसार गर्ने गरी कार्यक्रम आयोजना गरिएको बताइन ।
त्यसैगरी धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापाले भने– ‘व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्त गर्नको लागि जन्म, मृत्यु, विवाह, बसाँई सराई र सम्बन्ध विच्छेद लगायत व्यक्तिगत घट्नाहरु घटना घटेको ३५ दिन भित्र दर्ता गर्नु पर्छ ।’
उनले नगरवासीलाई आ–आफ्नो वडा कार्यालयमा गएर व्यक्तिगत घटना दर्ता गर्न सेवाग्राहीलाई अनुरोध समेत गरेका छन् । त्यसै गरी सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता प्राप्त गर्नको लागि पनि वडा कार्यालयमा गएर निवेदन दिन नगरवासीहरूमा अनुरोध समेत गरिएको छ ।