धनकुटा । कुटनी–पिसनी मिलमा काम गर्ने क्रममा गम्भिर घाईते भएका धनकुटा नगरपालिका वडा नं.२ भिरगाउँका १७ बर्षिया बिवेक आठपहरियाले उपचारका लागि सहयोगको याचना गरेका छन् ।

एघार बर्ष अघि आमा निशा आठपहरियाको स्वर्गारोहण भएको र बुवा हर्कबहादुर आठपहरिया समेत १४ बर्ष अघिबाट बैदेशिक रोजगारबाट सम्पर्क बिहिन भएकाले उनको उपचारमा आर्थिक समस्या भएको हो ।

हाल छथर जोरपाटी गाउँपालिका वडा नं. ५ को तेलियामा आफ्नो फुपुकोमा बस्दै आएका आठपहरियाको गएको चैत्र ११ गते सोही ठाउँमा रहेको रमेश थापाले सञ्चालन गरेको कुटानी पिसानी मिलमा काम गर्ने क्रममा मिलको फित्ताले लागेर दुर्घटनामा परेका थिए ।

दुवै अण्डाकोषमा गहिरो चोट लागेका आठपहरिया आफन्त र सञ्चालक थापाको सहयोगमा धरान स्थित् बि.पि.कोईराला मेमोरियल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचार पछि ध.न.पा. ५ बालमन्दिर स्थित बडीआमा धनकुमारी आठपहरियाको घरमा फर्किएका छन् । शुरुमा एक लाख ५० हजार खर्च गरेर घर फर्किएका आठपहरियाको छुट्टिएको अण्डाकोष जोड्न अर्को अपरेशन गर्न आर्थिक अभाव भएको बडीआमा धनकुमारीले जानकारी दिइन ।

मिल सञ्चालक थापाले आठपहरियाको उपचारमा खर्च भएको रकमको आधा बेहोर्ने भने पनि थप रकमको अभाव रहेको उनले जानकारी दिए । ‘अपरेशन गर्न कति पैसा लाग्छ भनेर डाक्टरहरुले पनि भन्न सकेका छैनन् ।’–आठपहरियाले भने । अपरेशनको रकमका लागि पिडितले सबैसंग सहयोगको अपिल गरेका छन् ।

यसै क्रममा हाल साउदीमा रहेका ध.न.पा.८ सान्ताङ खाम्बेलाका रामबहादुर आठपहरियाले पिडित विवेकलाई ३५ हजार एक सय ८० रुपैंया आर्थिक सहयोग गरेका छन् । आठपहरियालाई उनकी पत्नी सन्जिता आठपहरियाले ध.न.पा.वडा नं.८ का वडा अध्यक्ष रसबहादुर आठपहरियाको उपस्थितिमा पिडित विवेकलाई नगद हस्तान्तरण गरेका छन् ।