बराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको कोकाहा खोलाबाट धरानमा खानेपानी ल्याउने विषयमा स्थानीयसँग समन्वय नगर्नु प्राविधिक कमजोरी भएको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले स्वीकार गरेका छन् ।

बुधबार वराहक्षेत्र नपाको कार्यालयमा भएको छलफलमा प्रमुख साम्पाङले वराहक्षेत्र नगरका प्रमुखसँग ३–४ पटक छलफल भएको तर, धराने जनतालाई पानी खुवाउने हतारमा स्थानीयसँग समन्वय हुन नसकेको बताए । उनले खानेपानीका विषयमा छलफलका लागि एक पटक पत्र पठाएको तर, डोजर लगाउने विषयमा प्राविधिक कमजोरी भएको स्वीकारे ।

छलफलमा वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले कोकाहा खानेपानी योजनामा नपाको वडा नं. १ को चावाचा, फूलबारी, शिलपाखा, कटहरे, सिँधुरेपुछारलगायतका स्थानमा स्थानीय जनताको घर र खेतबारीमा कुनै जानकारी नगराई खानेपानीको पाइप बिछ्याउन डोजर चलाउनु गलत भएको बताए ।

धरानलाई पानी दिनेमा सकारात्मक रहेको भन्दै मेयर कार्कीले पर्याप्त छलफल र समन्वय नगरी पानी लान दिन नसकिने बताए । कार्कीले वडामा रहेका घरहरू माटोले बनेको र डोजर लगाउँदा पहिरो जान सक्ने हुनाले पर्याप्त छलफलमार्फत् निकास ननिकाली खानेपानी लैजान दिन नसकिने बताए ।

खानेपानीको पाइप लाइन लैजाँदा स्थानीयको खेतबारीको क्षतिपूर्तिलगायत अन्य विषयमा लचिलो भएको उनले बताए । नगरपालिका, वडा कार्यालय तथा स्थानीयबासीलाई जानकारी नदिई शनिबार एक्कासि साम्पाङको नेतृत्वमा हजारौं मानिसहरू चावाचामा डोजरसहित खेतबारी खन्न पुगेपछि स्थानीयले विरोध गर्दै नपालाई जानकारी गराएका थिए ।