पाँचथर ।  पाँचथर कुम्मायक गाउँपालिकाको तमोर पम्पिङ खानेपानी उपभोक्ता समितिले पूर्णता पाएको छ । 

लामो समयको प्रयासपछि निर्वाचनमार्फत् उपभोक्ता समितिले पूर्णता पाएको हो । निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरूलाई यासोक सुख्खाक्षेत्र तमोर पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहणसहित प्रमाण–पत्र प्रदान गरिएको निर्वाचन अधिकृत ऋषिराम गजुरेलले बताए । 

निर्वाचनबाट समितिको अध्यक्षमा मेघराज निरौला, उपाध्यक्षद्वय गोपालप्रसाद पोख्रेल र रिजवान सम्बाहाम्फे, महासचिव जकेन्द्र लावती, सचिव टङ्कप्रसाद पौडेल र कोषाध्यक्ष टङ्कबहादुर पौडेल गरी १३ सदस्यीय समिति चयन गरिएको थियो । समितिको अध्यक्ष र सचिव पदमा सहमति नहुँदा निर्वाचनबाट टुङ्गो लागेको थियो भने अन्य पदहरूमा सहमतिका आधारमा समिति गठन भएको निर्वाचन अधिकृत गजुरेलले बताए ।

त्यस्तै लेखा समितिको संयोजकमा नरेन्द्रबहादुर कार्की र सदस्यद्वय कमलप्रसाद चम्लागार्इं, अम्बरकुमार लावती रहेका छन् । सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण कार्यक्रममा समितिका संस्थापक अध्यक्ष नरबहादुर खड्काले खानेपानी योजना सञ्चालनमा विद्युत् महसुल, चुहावट र कर्मचारी व्यवस्थापन जस्ता चुनौती समाधान गर्नुपर्नेमा जोड दिए ।