धनकुटा । धनशोभा राई स्मृति सेवा केन्द्र धनकुटाले नवौं स्थापना दिवसको अवसर पारेर धनकुटा नगरपालिका क्षेत्रका विभिन्न वडाका २७ जना असहाय एवम् विपन्न परिवारका सदस्यलाई बिहीबार राहत वितरण गरेको छ । 

मातातीर्थ औंसी आमाको मुख हेर्ने दिनको अवसरमा पारेर सेवा केन्द्रले राहत तथा छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न राहत तथा छात्रवृत्ति वितरण कार्यक्रममा धनकुटा नगरपालिका वडा नं. ३, ४, ६, ७ र ८ का विपन्न एवम् असहाय परिवारलाई धनशोभा राई स्मृति सेवा केन्द्रले राहत वितरण गरेको हो । विपन्न परिवारलाई सेवा केन्द्रको तर्फबाट संस्थाको स्थापनाकालदेखि नै हरेक वर्ष २५ केजी बराबरको १ बोरा चामल, १ लिटर खाने तेल, १ केजी नुन, १ केजी दाल, १ लिटर जुस, १ लिटर पानीसमेत प्रदान गर्दै आएको छ । 

राहत पाउनेहरूमा धनकुटा नगरपालिका वडा नं. ३ की ४५ वर्षीया सीता बस्याल, धनपा–४ की ६३ वर्षीया करीमाया वि.क., ५४ वर्षीया चन्द्रकुमारी वि.क., धनपा–६ की ६४ वर्षीया रतनश्वरी राई, ७३ वर्षीय होमबहादुर राई, ७४ वर्षीय वीरबहादुर राई रहेका छन् । त्यसैगरी वडा नं.७ का ७३ वर्षीय मानबहादुर लावती, ७२ वर्षीया कृष्णमाया राई रहेका छन् । त्यसैगरी वडा नं. ८ की ६४ वर्षीया कुम्भरानी राई, ६० वर्षीया कर्मश्वरी राई, ६७ वर्षीय असारबहादुर राई, ५० वर्षीया इन्द्रकुमारी राई, ५० वर्षका पेचु राई रहेका छन् । 

त्यसैगरी वडा नं.८ की ७० वर्षीया भीममाया राई, ६८ वर्षीय हरिबहादुर राई, ७० वर्षीया जसमाया राई, ६५ वर्षीय जयबहादुर राई, ६८ वर्षीया चुर्सीमाया राई, ८० वर्षीया सीममाया राई, ७० वर्षीय कुमबहादुर राई, ६५ वर्षीया हरिमाया राई, ६७ वर्षीया शुकमाया राई, ८२ वर्षीय जितबहादुर राई, ६७ वर्षीय वीरबहादुर राईले राहत पाएका हुन् । धनशोभा राई स्मृति सेवा केन्द्रका संरक्षक प्रकाश राईले नगर क्षेत्रका गरिब तथा विपन्न वर्ग, असहाय परिवार पहिचान गरी हरेक वर्ष धनकुटा नगरपालिकाका सवै वडामा राहत वितरण कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् । उनले वि.सं.१९६० सालमा खोटाङ जिल्लाको फाक्टाङ–१ निवासी धनशोभा राईको वि.सं.२०४० सालमा स्वर्गारोहण भएको थियो । उनै धनशोभा राईको सम्झनामा विराटनगर निवासी उनका छोरीहरू मनसरा चौधरी, यशोदा राई र इन्दिरा राईले ९ वर्षअघि ७ लाख ३ हजार बराबरको स्मृति कोष स्थापना गरेका थिए । सोही कोषबाट प्राप्त हुने मुनाफाबाट हरेक वर्ष राहत एवम् छात्रवृत्ति वितरण हुँदै आएको छ । 

त्यसैगरी नगरक्षेत्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत ४ जना विद्यार्थीहरूलाई छात्रवृत्तिसमेत वितरण गरिएको छ । छात्रवृत्ति पाउनेहरूमा गोकुण्डेश्वर माध्यमिक विद्यालय धनकुटा–६ का कक्षा १० मा प्रथम छात्रा सन्ध्या खत्री, गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयका कक्षा १० मा प्रथम छात्रा मन्जिला ओझा, त्रिवेणी माविका साधारण धारतर्फका कक्षा १० मा प्रथम छात्रा सन्जिता राई र प्राविधिक धारतर्फका कक्षा १० का प्रथम प्रज्वल श्रेष्ठलाई जनही १५ सयको दरले नगद पुरस्कार प्रदान गरिएको छ ।