सुनसरी । सुनसरीको कोसी गाउँपालिका वडा नम्बर ७ हरिपुरका आगलागी पीडितलाई नगद सहयोग रकम हस्तान्तरण गरिएको छ ।

वैशाख ४ गते १२ बजेको समयमा विद्युत् सर्ट भई स्थानीय चनर सदाको घरबाट आगलागी हुँदा चनरसहित स्थानीय जगदीश सदा, दिनेश सदा, वेचन सदा, हरेराम सदा, शिवनारायण सदा र सोनितादेवी सदाको घर तथा घरभित्र रहेको नगद, खाद्यान्न, लत्ताकपडा, भाँडा वर्तन जलेर पूर्णरूपमा नष्ट भएको थियो ।

उनीहरूलाई आगलागीपश्चात् तत्कालै रेडक्रस कोसी र कोसी गाउँपालिकाले संयुक्तरूपमा खाद्यान्न सामग्रीका साथै आवश्यक सामग्री सहयोग गरेकोमा शुक्रबार भने कोसी गाउँपालिकाले नगद २५ हजारका दरले पीडित परिवारलाई रकम हस्तान्तरण गरेको कोसी गाउँपालिका वडानम्बर ७ का वडाध्यक्ष लालदेव सदाले जानकारी दिए ।

आगलागीबाट घरबारविहीन भएका पीडित परिवारलाई कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले नगद रकम हस्तान्तरण गरेका थिए । कोसी गाउँपालिका वडानम्बर ७ का वडाध्यक्ष लालदेव सदा, कोसी गाउँपालिका प्रशासन शाखा प्रमुख विनोद मिश्र, कोसी गाउँपालिका वडा नम्बर ७ का पूर्व वडाध्यक्ष रामचन्द्र महतो, वर्तमान वडासदस्य विजय सदालगायतको उपस्थिति रहेको थियो ।

आगलागी पीडित परिवारलाई आगलागीपश्चात् तत्कालै आवश्यक खाद्यान्न सामग्री, त्रिपाललगायत सहयोग गरेकोमा शुक्रबार २५ हजारका दरले उपलब्ध गराइएको कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । उनले पीडित परिवारलाई आवश्यकता आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।