विराटनगर । निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि वडा कार्यालय सार्न अनाकानी गर्दै आएका कटहरी गाउँपालिका–४ का वडाध्यक्ष जीवनेश्वोर यादवलाई कार्यालय सार्न दबाव दिएको छ ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र स्थानीय प्रशासनले निर्माण पूरा भएको नवनिर्मित भवनमा वडा कार्यालय लैजान दबाव दिएको हो । शुक्रबार ब्लाष्टले ‘कार्यालय भवन बन्यो, वडाध्यक्षद्वारा सार्न आनकानी’ भनेर समाचार प्रकाशित गरेको थियो । उक्त समाचारलाई सूचनाको रूपमा ग्रहण गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार कटहरी गाउँपालिका–४ को नवनिर्मित भवनमा वडा कार्यालय लैजान गाउँपालिकालाई पत्राचार गरेको छ । ‘कटहरी गाउँपालिका ४ नम्बर वडाको नयाँ भवन निर्माण पूरा भएको एक वर्ष बितिसक्दा पनि आफ्नै भवनमा वडा कार्यालय सञ्चालन नगरी वडा कार्यालयले मासिक १८ हजार रुपैयाँ बुझाएर जीर्ण अवस्थाको कटहरी–४ जुडी चोकमा भाडाको भवनमा वडा कार्यालय सञ्चालन गर्दै आएको भनी पत्रपत्रिकामार्फत् जानकारी भयो । कटहरी–४ मा निर्माण सम्पन्न भइसकेको भनिएको नयाँ भवनमा वडा कार्यालय सारी कार्य सञ्चालनको आवश्यक व्यवस्था हुन आदेश गरिएको छ’–जिल्ला प्रशासन कार्यालय मोरङले पठाएको पत्रमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयले गरेको पत्राचारको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी, गृह मन्त्रालय स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखा सिंहदरबार, आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, जिल्ला समन्वय समितिको कार्यालय मोरङ र कटहरी गाउँपालिका ४ नं. वडा कार्यालय मोरङमा पनि पठाएको छ । गुनासो आएपछि निर्माण पूरा भएको भवनमा वडा कार्यालय सार्न पत्राचार गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । ‘पत्रपत्रिकामा समाचार आएपछि हाम्रो ध्यानाकर्षण भयो’ उनले भने, ‘सरकारी लगानीमा निर्माण सम्पन्न भएपछि कार्यालय भाडामा राख्नु हँुदैन, बनेको भवनमा लैजानु पर्छ । त्यसैले हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हौं ।’
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले एक साताभित्र नवनिर्मित भवनमा वडा कार्यालय लैजाने बताए । ‘हामीले कटहरी गाउँपालिका–४ का वडाध्यक्षलाई ४ दिनको समयसीमा दिएका छौं’ गाउँपालिका अध्यक्ष चौधरीले भने, ‘त्यसअवधिमा वडा कार्यालय स¥यो भने ठीकै छ, नभए हामी हस्तक्षेप गरेर भए पनि नयाँ बनेको भवनमा वडा कार्यालय लैजानेछौं ।’ जिल्ला प्रशासन कार्यालयबाट पनि पत्र प्राप्त भएकोले वडा कार्यालय अब भाडाको घरमा नबस्ने उनले बताए । कटहरी गाउँपालिका ४ नम्बर वडा कार्यालय वडाध्यक्ष जीवनेश्वोर यादवले सार्न आनाकानी गरेको कारण एक वर्षदेखि नयाँ भवन प्रयोगविहीन छ भने भाडाको जीर्ण भवनमा कार्यालय सञ्चालित छ । वडा कार्यालय बने पनि कार्यालय नसारेपछि गाउँपालिकाले कार्यालयको तीन महिनाको भाडा रोक्का गरिदिएको छ ।
वडाध्यक्षले वडा कार्यालय नसारेपछि भाडा रोकिदिएको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए । ‘गाउँपालिकाको लगानीमा वडाको भवन निर्माण पूरा भएको छ । वडाध्यक्षले सार्ने चासो नदेखाएपछि हामीले तीन महिनादेखि वडा कार्यालयको भाडा बापतको रकम रोक्का गरेका छौँ’–अध्यक्ष चौधरीले भने । ७४ लाख रुपैयाँको लागतमा २०७८ सालमा कटहरी–४ चमडाइ चोकदेखि करिब तीन सय मिटर उत्तरमा एकतले भवन बनाइएको छ । स्थानीय निलम निरौलाले दिएको अढाई कठ्ठा जग्गामा पाँचवटा कोठासहितको एक तले भवन निर्माण गरिएको हो । वडा कार्यालय भने हाल कटहरी–४ जुडीचोकमा छ । जसबापत १८ हजार रुपैयाँ भाडा तिर्दै आएको छ । भवन बनिसके पनि व्ययभार थपिने कार्य गरेको भन्दै स्थानीयले समेत आपत्ति जनाएका छन् ।
कटहरी गाउँपालिकाको पुस २६ गते बसेको कार्यपालिकाको बैठकले नवनिर्मित भवनमा वडा कार्यालय सार्ने निर्णय पनि गरेको थियो । तर, बैठकले गरेको निर्णयप्रति पाँच महिना बितिसक्दा पनि वडाध्यक्ष यादवले चासो नदेखाएको स्थानीय बताउँछन् । जुडी चोकदेखि पश्चिम नयाँ बजारका स्थानीयले वडा कार्यालय नसार्न दबाव दिएको कारणले सार्न नसकेको वडाध्यक्ष यादवको भनाइ छ । तत्कालीन कटहरी–४ का वडाध्यक्ष मन्टु शेखको कार्यकालमा उक्त भवन निर्माण सुरु भएको थियो ।