धरान (ब्लाष्ट) जोगवनी–किमाथाङ्का व्यापारिक मार्गअन्तर्गत सुनसरीको तरहरादेखि धरानको सेउती पुलसम्मको सडक निर्माण सुस्त भएपछि इटहरी उपमहानगरपालिकाले शुक्रबार ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा लिएको छ ।
गाडी नियन्त्रणमा लिई तीन दिने अल्टिमेटम पनि दिएको इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए । इटहरीको तरहरादेखि धरानको सेउती पुलसम्म ५ दशमलव ३ किलोमिटर सडक निर्माण सम्पन्न हुन बाँकी छ । निर्माण कम्पनी हिम धुङ थोकर एण्ड पेसिफिक जेभीलाई पटक– पटक इटहरी उपमहानगरपालिकाले काम सक्न ध्यानाकर्षण गराउँदै आएको थियो । तर, ठेकेदार कम्पनीले चासो नदिएपछि शुक्रबार सवारी साधन नियन्त्रणमा लिइएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए । ठेकेदारको ढिलाइले सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै नगरप्रमुख पौडेलले ‘लिखित प्रतिबद्धतासहितको काम सक्ने समयावधि तोक्न’ तीनदिने अल्टिमेटम दिएका छन् । विराटनगर–धरान सडक–खण्डअन्तर्गत अब काम बाँकी हुन तरहरादेखि धरानको सेउतीको पुलसम्म रहेको छ ।
नगरप्रमुख पौडेलका अनुसार छ लेन सडक विस्तार आयोजनाका प्रमुख र ठेकेदार कम्पनीलाई पटक–पटक स्थानीय सरकारको तर्फबाट आग्रह गर्दा पनि अटेर गरेकाले अल्टिमेटम दिन बाध्य भएको हो । अब पनि लिखित प्रतिबद्धता नआए कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए । उनले अल्टिमेटमको अवधिभर प्रतिबद्धता नआए प्रधानमन्त्री कार्यालय र भौतिक निर्माण मन्त्रालय पुगेर दबाव दिइने बताए । हिमधुङ र सेउतीदेखि माथि धरानको तीनकुनेसम्म रौताहा कन्स्ट्रक्सनले एकै पटक ठेक्का पाएको थियो । रौताहाले काम सम्पन्न गरिसकेको छ । पछिल्लो पटक २०८० सम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता अवधि थपिएको छ ।
नगरप्रमुख पौडेलले यही गतिमा सडक निर्माण भए थप गरिएको अवधिमा पनि सम्पन्न नहुने बताए । छ लेन सडक विस्तार आयोजनाका निर्देशक दानकुमार शाक्यको भूमिका प्रभावकारी नहुँदाको परिणाम रहेको उनको आरोप छ । कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार हुन बाँकी छ । २०६९÷०७० मा सुरु भएर सात वर्षभित्रमा छ लेन सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । पूरै सडक निर्माण गर्दा सुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।