विजयपुर । धरान–८ स्थित वनबाटिका मार्गको दक्षिणतर्फको प्रवेशद्वार उद्घाटन गरिएको छ । उद्घाटनसँगै प्रवेशद्वार निर्माणमा आर्थिक सहयोग गर्ने दम्पतीलाई सम्मान गरिएको छ ।

शनिबार सम्पन्न प्रवेशद्वार उद्घाटन कार्यक्रममा आर्थिक सहयोग गर्ने स्थानीय रत्नबहादुर श्रेष्ठ र उनकी पत्नी गङ्गालक्ष्मी श्रेष्ठ सम्मानित भएका हुन् । उनीहरूलाई वनबाटिका मार्ग उपभोक्ता समितिले सम्मान पत्रसहित दोसल्ला र टोपी ओढाएर सम्मान गरेको हो । श्रेष्ठ दम्पतीले प्रवेशद्वार निर्माणको लागत १ लाख ३९ हजार ५ सय रुपैयाँ प्रदान गरेको उपभोक्ता समितिका समितिका सचिव लालबहादुर विश्वकर्माले बताए ।

कार्यक्रममा सामाजिक कार्य गर्ने कमला राई र दुर्गा श्रेष्ठलाई पनि सम्मान गरेको उपभोक्ता समितिका अध्यक्ष सोनाम श्रेष्ठले बताए । सामाजिक कार्य गर्ने दम्पतीको नाममा प्रवेशद्वार निर्माण गरिएको स्थानलाई ‘गङ्गालक्ष्मी चोक’ नामकरण गर्ने प्रक्रिया सुरु गरेको स्थानीय लोकमान श्रेष्ठले बताए । धरान–८ का वडाध्यक्ष धनबहादुर राईले रिबन काटेर प्रवेशद्वारको उद्घाटन गरे । वडाध्यक्ष राईले विकासका कार्यमा गरिने योगदान इतिहासमा रहने बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर सागर श्रेष्ठ, इलाका प्रशासन कार्यालय धरानका टङ्क श्रेष्ठलगायत विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।