इनरुवा । न्यायालय शुद्धीकरणको माग राख्दै आन्दोलन छेडेको नेपाल बार एशोसिएसनले आइतबारबाट देशव्यापी दबावमूलक कार्यक्रमको थालनी गरेको छ ।
सोहीअनुसार सुनसरी जिल्ला अदालत बार इकाई इनरुवाले समेत दबावमूलक कार्यक्रमको सुरुवात गरेको छ । सुनसरी बारका अध्यक्ष अश्विनीकुमार भट्टराईको नेतृत्वमा कार्यालय परिसरमा भेला भएका अधिवक्ताहरूले ध्यानाकर्षणसहितको दबावमूलक कार्यक्रम अन्तर्गत सामूहिक धर्ना दिएका हुन् । विभिन्न प्लेकार्ड र ब्यानरसहित भेला भएका अधिवक्ताहरूले धर्नाका क्रममा स्वतन्त्र न्यायपालिका रक्षाको मागसहित न्यायालयभित्रको भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्यको माग गरे ।
केन्द्रीय परिपत्रअनुसार आन्दोलनमा होमिएको सुनसरी बारले पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली अविलम्ब लागू हुनुपर्ने र प्रधान न्यायाधीशको नियुक्ति तत्काल गरिनु पर्नेजस्ता मुद्दा सर्तका रूपमा अघि सारेको छ । दबावमूलक कार्यक्रममा उत्रिएको बारले सर्वोच्चसहित रिक्त रहेका सबै तहका अदालतमा न्यायाधीश नियुक्ति हुनुपर्ने, संवैधानिक परिषद्को बैठक डाकिनु पर्ने र संसदीय सुनुवाइ समिति गठन गरिनु पर्नेजस्ता माग राखेको छ ।
अभियान थालनीका क्रममा कार्यालयपरिसरमा धर्नामा बसेका सुनसरी बारका पदाधिकारीसहितको टोलीले नेपाल बार एशोसिएसनको आह्वान बमोजिम सम्बन्धित निकाय समक्ष ध्यानाकर्षण गराउने उद्देश्यअनुसारको एक हप्ते दबावमूलक कार्यक्रमलाई निरन्तरता दिइने अधिवक्ता राजु ढकालले बताए ।