सुनसरी । सुनसरीमा आगलागीका घटना बढ्दै गएको छ । हावाहुरीको मौसम र गर्मीयाम सुरु भएसँगै जिल्लामा आगलागीका घटना बढेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख १४ गतेसम्मको अवधिमा ४७ वटा आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार माघ महिनामा १४ वटा, फागुनमा १२, चैतमा १५ र वैशाखमा ६ वटा आगलागीका घटना भएका छन् । जसमा एउटा चौपायासहित २६ वटा घर, १३ वटा गोठ, ४ परालको कुन्यु र ४ अन्य जलेर नष्ट भएको छ । माघ, फागुन, चैत र वैशाख महिनामा भएका आगलागीका घटनाबाट २ करोड ४५ लाख ४५ हजार बराबरको धनमाल नोक्सानी भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी राजकुमार राईले हावाहुरीको मौसम सुरु भएपछि जिल्लामा आगलागीका घटना वृद्धि भएको बताए । पछिल्लो समय जिल्लाका केही ग्रामीणभेगमा आगलागीका घटना बढेको बताउँदै उनले आगलागी र डढेलोसम्बन्धी पर्याप्त जानकारी नहुँदा आगलागीका घटना बढेको बताए । आगलागीका घटना बढे पनि अधिकांश स्थानीय तहमा आफ्नै दमकल छैन । आगलागीका घटना बढ्दा कोसी गाउँपालिकाको दमकललाई भ्याई नभ्याई भएको चालक करिम मन्सुरीले जानकारी दिए । उनका अनुसार हावाहुरीको मौसमका कारण आगलागीका घटना बढ्दै गएपछि कोसी गाउँपालिकाको दमकल भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज गाउँपालिकासहित इनरुवा र वराहक्षेत्र नगरपालिकासम्म पुग्ने गरेको छ ।
डिएसपी राईले अहिले जिल्लामा बढ्दै गएका आगलागीका घटनाप्रति चिन्ता व्यक्त गर्दै सजग र होसियार रहन सबैमा आग्रह गरेका छन् । आगलागीका घटनालाई समयमै नियन्त्रण गरी घाइतेलाई उद्धार गर्दै नेपाल प्रहरीले अग्नि पीडितलाई आवश्यकताअनुसार पालिका, रेडक्रस, जिल्ला विपद् व्यवस्थापन समितिबाट राहत र सहयोग उपलब्ध गराउन आफ्नो भूमिका निर्वाह गरिरहेको उनले बताए ।