पाँचथर । पाँचथरको फिदिम नगरपालिका ५ स्थित मुङग्रेडाँडाको जंगलमा सुकमाया तुम्बापोको छाप्रो घर थियो । त्यही छाप्रोमा लामो समय देखी कष्टकर जीवन बिताउँदै आएकी सुकमायाले नयाँ घर पाएकी छन् ।
नाबालक छोराछोरीसँग बस्दै आएकी सुकमाया तुम्बापोलाई जनसेवा समाज पाँचथरले नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ । समाजको समन्वय र पहलमा सुकमायाको परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।
उनको घर बनाउन फिदिम नगरपालिका ४ घर भई हाल बेलागतमा बस्दै आएकी सुक्मिता केरुङले आफ्ना स्वर्गीय पिता केहेरमान केरुङको स्मृतिमा ४० हजार रुपैयाँ सहित श्रमिक खर्च उपलब्ध गराएकी थिइन ।
फिदिम नगरपालिकाले घरमा आवश्यक पर्ने जस्तापाता र काँटी उपलब्ध गराएको थियो । भने ५ नं. वडाले काठपात र जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी)हरि खतिवडाले सिलिङ हाल्न आवश्यक सामग्री उपलब्ध गराएको अधिकारीको भनाइ छ ।
सुकमायाका यसअघि २ छोरी, ४ छोरा र आफू सहित ७ जना सदस्य चोकमागु स्थित मुङग्रे डाँडाको जंगलमा रहेको छाप्रोमा बस्दै आइएकी थिइन । उनको पतिको निधन भएपछि बिचल्लीमा परेका तुम्बापो परिवारका सदस्य नयाँ बनाएको घरमा बस्न थालेका छन् ।
जनसेवा समाजले आर्थिक रूपमा विपन्न र अपाङ्गता भएका नागरिकको घर निर्माण गर्दै आएको छ । दाताहरूको समन्वयमा हालसम्म ५४ वटा घर निर्माण गरी हस्तान्तरण गरिसकेको समाजले जनाएको छ ।