धनकुटा । धनकुटा नगरपालिका–१ हिले बजारस्थित एक घरमा आगलागी हुँदा १७ लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
भीमबहादुर बस्नेतको घरमा आगलागी हुँदा सो रकम बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आगलागीमा परी घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बस्नेतको घरमा सञ्चालनमा रहेको काष्ठ फर्निचर उद्योगसमेत जलेर नष्ट भएको हो । घरमा कोही पनि नभएको अवस्थामा बिहान करिब ७ बजेतिर एक्कासि आगलागी भएको थियो । स्थानीयबासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरे पनि घरको पूरै भागमा आगो सल्किसकेका कारण आगो नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएका कारणले घरमा रहेका सामग्री बाहिर निकाल्न नसकेको पीडित बस्नेतले जानकारी दिए । विद्युत् सर्ट भई आगलागी भएको प्रहरी चौकी हिलेका इन्चार्ज सइ सन्तोष राना मगरले जानकारी दिए । उनका अनुसार घरमा रहेको नगद, लत्ताकपडा, अन्नपात, फर्निचर उद्योगमा रहेका सम्पूर्ण सामग्री जल्दा १७ लाख ५५ हजार बराबरको क्षति भएको छ ।