भद्रपुर । दक्षिणी झापाको कचनकवल गाउँपालिका–४ स्थित पूर्वी लोदाबारी नाकाबाट चाइनिज स्याउ भारत तस्करी भएको घटनामा डिएसपी र इन्स्पेक्टर तानिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म घेराबारीका डीएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर ओकिल धानुक छानबिनको क्रममा मुछिएकोले सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनी मुख्यालय कोशी प्रदेश सुनसरीमा तानिएका हुन् ।  


घटनामा डिएसपी शर्मा र इन्स्पेक्टर धानुकको नाम छानबिनको क्रममा मुछिएकोले बिहीबार नै हाजिर हुने गरी बाहिनी मुख्यालय सुनसरी तानिएको सशस्त्र प्रहरी बल वराह बाहिनी मुख्यालय सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले बताए ।

उनीहरूको ठाउँ घेराबारीमा डिएसपी प्रभात गौतम र केचनामा इन्स्पेक्टर जितेन्द्रबहादुर बस्नेतलाई अस्थायी रूपमा जिम्मेवारी दिएर पठाइएको उनले बताए । छानबिन समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै डिआइजी पोखरेलले प्रारम्भिक छानबिनको क्रममा डिएसपी र इन्स्पेक्टर घटनामा संलग्न रहेको देखिएकोले  प्रतिवेदन आएपछि दोषी ठहरेमा उनीहरूमाथि थप विभागीय कारबाही हुने उनले  बताए । उनीहरूलाई फिर्ता नहुने गरी बाहिनी तानिएको उनले जानकारी दिए ।

कचनकवल नाकाबाट स्याउ तस्करी भइरहेको डिआइजी पोखरेलले थाहा पाएलगत्तै सशस्त्रले आइतबार बेलुका मे.१ ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा लोड गरिएको १ सय १५ कार्टुन चाइनिज फुजी स्याउ बरामद गरेको थियो । त्यसपछि राजश्वका अनुसन्धान अधिकृत विनोद पोखरेलको टोलीले पूर्वी लोदाबारीस्थित जयनारायण साहको गोदाममा छापा मारेर थप ४ सय ५६ कार्टुन चाइनिज स्याउ बरामद गरेको थियो । बरामद गरिएको जम्मा ५ सय ७१ कार्टुन स्याउ र गाडीको ५ लाख गरी १५ लाखमा राजश्वमा बुझाइसकिएको छ ।

डिआइजी पोखरेलले चाइनिज स्याउ तस्करी घटनाको बारेमा वराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईंको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेर स्थलगत छानबिनका लागि पठाएका छन् ।