विराटनगर l कोशी प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बुधबार उनलाई बर्खास्त गरेको हो । 

सदस्य सचिव वाग्लेलाई बर्खास्त गर्नुको मुख्य कारण भने सरकारले कार्यक्रमको ब्यानरमा ‘कोशी प्रदेश किन नलेखेको’ लाई देखाएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले सदस्य सचिव वाग्लेलाई दुई पटक स्पष्टीकरण सोधेको थियो ।

वैशाख १७ गते स्पष्टीकरण सोधेको मन्त्रालयले १९ गते बैंक खातासमेत रोक्का गरेको थियो । दुई पटकको स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई सरकारले हटाएको हो । 

नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा वाग्ले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त भएका थिए । 

अहिले एमाले नेतृत्वको सरकारले आफूमाथि राजनीतिक पूर्वाग्रह साँधेर यस्तो निर्णय गरेको वाग्लेले बताएका छन् ।

‘सरकारको निर्णय राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो’, उनले भने, ‘म यो अन्यायविरूद्ध अदालत जानेछु। अदालतबाट न्याय पाउने कुरामा ढुक्क छु ।’ 

प्रदेश खेलकुद ऐन २०७६ बमोजिम गठन भएको प्रदेश खेलकुद बोर्डका सदस्य पदबाट हटाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मन्त्रीपरिषदको बैठकले ओखलढुङ्गाको चम्पादेवीगाँउपालिकावडा नं ६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्च बापत  एक लाख ७५ हजार उपलब्ध गराउने निर्णाय गरकेो छ । यस्तै आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७९ मा उल्लेख भएबमोजिम आर्थिक रुपले विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि प्रदान गरिने उपचार सहुलियत रकमको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत एक करोड पचास लाख थप बजेटका  लागि स्विकृती प्रदान गर्ने निर्णय गरिएको छ ।