धनकुटा । १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । 

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा बुधबार सम्पन्न भीमनारयण गोल्डकपको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले नगद ५ लाख रुपैयाँसहित भीमनारायण गोल्डकपको ट्रफी हातपारेको छ । 

उपविजेतामा चित्त बुझाएको वीरगञ्ज युनाइटेडले २ लाख ५० हजारसहित ट्रफी हातपारेको छ । प्लानिङ ब्वाइजको जितमा यो निपोलियनले २, समिर थापा र विशाल दर्जीले १–१ गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अभिनाश थापा मगर घोषित भए । उनले नगद ४ हजार रुपैयाँ हातपारे । त्यस्तै विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर लोकेश चौधरी, उत्कृष्ट स्ट्राइकर यो निपोलियन घोषित भए भने वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरूले ७–७ हजार नगद र ट्रफी हात पारे । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका डेडी वाम्वा घोषित भए । उनले नगद १५ हजार र ट्रफी प्राप्त गरे । एन्फाका उपाध्यक्ष तथा एएफसी सामाजिक उत्तरदायी समितिका सदस्य दावा लामा, पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङलगायतले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । 

सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता गत वैशाख २७ गते सुरु भएको थियो । वि.सं.२०५५ सालमा स्थापना गरिएको गोल्डकप सुरुका दुईवर्ष नियमितरूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थितिका कारण सञ्चालन हुन सकेन । वि.सं.२०६३ सालपछि गोल्डकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ ।