विजयपुर । आफ्नै बाबुले छोरी बेपत्ता पारेको भन्दै छोरी खोजिदिन आमाले आग्रह गरेकी छन् ।
आमा यशोदा अधिकारीले जेठ १ गते पत्रकार सम्मेलन गरेर १८ वर्षअघिबाट बेपत्ता छोरी खोजिदिन आग्रह गरेकी हुन् । पत्रकार सम्मेलनमा उनले बताएअनुसार २०६२ सालमा बुबा लक्ष्मण अधिकारी ७ वर्षीया छोरी शोभा अधिकारी लिएर घरबाट बेपत्ता भएका थिए ।
बेपत्ता भएपछि आफूले खोजी गरे पनि फेला पार्न नसकेको आमा यशोदाले बताइन् । २०६२ सालमा छोरीसहित बेपत्ता भएका लक्ष्मण १८ वर्षपछि धरान फर्किएका थिए ।
उनले भनिन्, ‘हामीलाई सुकुम्बासी बनाएर हिँडेका श्रीमान् लक्ष्मण अधिकारी २०७८ साल फागुन ११ गते फर्केर दाजुको घरमा आए । मैले गएर छोरी खोइ ? भन्दा हराएको जवाफ दिए ।’
श्रीमान् धरान आएपछि मात्र छोरी काठमाडौँमा हराएको जवाफ आफूलाई दिएको उनले बताइन् । २०६२ सालमा श्रीमान्ले कुटपिट गरी यातना दिएका कारण आफू माइत गएको उनले बताइन् ।
त्यसपछि श्रीमान्ले घरजग्गासमेत बिक्री गरी छोरी लिएर हिँडेको र छोरी बेपत्ता पारेर मात्रै एक्लै धरान फर्किएको उनको आरोप छ । उनले भनिन्, ‘मैले श्रीमान्लाई कसरी ? कहिले ? कहाँ ? छोरी हराएको भनेर सोध्दा ‘काठमाडौँ थानकोटमा काम गरेर बस्दा हराएको बताउँछन् ।’
श्रीमान्को भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘मजदुरी काम गर्दै बिहानको खाना बाहिरै खान्थेँ, बेलुकाको खाना नानीले बनाउँथी र खान्थेँ, साँझको खाना खाएपछि छिमेकीकहाँ टिभी हेर्न जान्छु भनेर हिँडेकी छोरी फर्केर आइनन् ।’ सबैतिर खोजतलास गरेको र प्रहरीमा निवेदन दिए पनि छोरी फेला नपरेको श्रीमान्ले बताउँदै आइरहेको उनले बताइन् । तर, प्रहरीमा निवेदन दिएको तथ्य भने नभेटिएको उनले बताइन् ।
छोरी शोभा अधिकारी चन्द्रागिरी नगरपालिका नागढुङ्गास्थित नवदुर्गा आधारभूत विद्यालयमा एक वर्ष अध्ययन गरेको प्रमाण पनि फेला परेको दिदी सविना अधिकारीले बताइन् । उनका अनुसार शोभा उक्त विद्यालयमा एक वर्ष अध्ययन गरेको देखिन्छ । कक्षा ४ उत्तीर्ण गरी कक्षा ५ मा गएको देखिन्छ ।
शोभाले छोरी बेपत्ता पारेका श्रीमान् र नातामा जेठाजु पर्ने केशवप्रसाद अधिकारीले अन्यायमा पारेको बताइन् । उनले भनिन्, ‘जेठाजु केशवप्रसाद अधिकारीले श्रीमान्लाई घर लान बारम्बार दबाव दिए पनि आफूले छोरी लिएर आए मात्रै स्वीकार गर्ने अडान राख्दा मुद्दा लगाइयो ।’
धरान–१३ का अध्यक्ष नेत्रप्रसाद काफ्लेले इलाका प्रहरी कार्यालयमा धरानमा छलफल गर्दा केशवप्रसाद अधिकारीले अंश दिनुपर्ने मात्रै कुरा गरेको बताए ।
उनले भने, ‘उनलाई मैले भान्जी ल्याउनु अंश मात्रै होइन, दिदीले सबै सम्पत्ति दिन्छे भनँे, उनी बोलेनन् ।’ श्रीमान् लक्ष्मणले आफूले दुःख गरेर जोडेको सम्पत्ति हडप्न अंश मुद्दा गरेको शोभाले बताइन् ।
शोभाले कानूनी उपचारमा जाँदा पनि आफू अन्यायमा परेको बताइन् । उनले आफ्नो मिसिलमा प्रमाण नपुगेको भन्दै अदालतले खारेज गरिदिएको बताइन् । उनले सबैलाई आफ्नी छोरी खोजिदिन आग्रहसमेत गरेकी छन् ।