बिर्तामोड । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा पूर्वराष्ट्रिय खेलाडी मेहबुब आलमले खेल्ने भएका छन् ।
बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अलराउन्डर आलमले प्रतियोगितामा सहभागिता जनाउने भएको जनाइएको छ । आलमले ‘बिटिएम मन्त्र थकाली’ टिमको प्रतिनिधित्व गर्ने टिम कप्तान सुरज खड्काले जानकारी दिए । एकै खेलमा १० विकेट लिएका आलमको नाममा विश्व कीर्तिमान छ ।
सन् २००८ मा विश्व क्रिकेट डिभिजन ५ मा आलमले मोजाम्बिकविरुद्ध विश्व रेकर्ड बनाएका थिए । बिटिएम मन्त्र थकालीले अन्य खेलाडीको नामसमेत सार्वजनिक गरेको छ । थकालीबाट आलमसहित कप्तान खड्का, नृत्य खडोलिया, अभ्यास तिम्सिना, रूपनारायण श्रेष्ठ, फिर्दोस अन्सारी, दीपक काफ्ले र उमेश खरेल मैदान उत्रिनेछन् ।
यसैबीच बिटिएम मन्त्र थकालीले आलमको जर्सी पनि सार्वजनिक गरेको छ । आलमले ११ नम्बरको जर्सी लगाएर कर्पोरेट सुपर सिक्स क्रकेट खेल्नेछन् । झापाको बिर्तामोडमा यही जेठ ६ गतेदेखि प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुँदै छ ।
प्रतियोगितामा २० वटा टिमले भाग लिँदै छन् । प्रतियोगितामा बिर्तामोड नगरभित्रका व्यावसायिक तथा सामाजिक संस्था सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद पचास हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछ ।
त्यस्तै खेलको म्यान अफ द टुर्नामेन्टलाई १० हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई पाँच हजार एक सय रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार एक सय रुपैयाँ पाउनेछन् ।