धरानमा प्रत्येक शनिबार झण्डै ३ सय बालबालिकाले फुटबल खेलको प्रशिक्षण लिइरहेका छन् ।

धरान १६ स्थित रङ्गशालामा विहान ७ बजेदेखि ९ बजेसम्म स्थानीय डी लाइसेन्स प्राप्त २० स्वयमसेवक प्रशिक्षकले बालबालिकालाई प्रशिक्षण दिइरहेका छन् ।

विगत तीन वर्षदेखि धरान उपमहानगरपालिकाको वार्षिक २ लाख रुपैयाँको बजेटमा प्रशिक्षण सञ्चालन भइरहेको छ । यो प्रशिक्षण हो ग्रासरुट फुटबल प्रशिक्षण । ६ वर्षदेखि १२ वर्षसम्मका बालबालिका ग्रासरुट प्रशिक्षणमा सहभागी छन् ।

ग्रासरुट प्रशिक्षणले देशको फुटबल खेलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने ग्रासरुट डेका अवसरमा धरान आइपुगेका फुटबलका राष्ट्रिय टिमका पूर्व कप्तान हरि खड्का बताउँछन् ।

ग्रासरुट डेका अवसरमा धरान रंगशालामा बालबालिका प्रशिक्षणमा व्यस्त छन् । धरान उपमहानगरपालिकाले प्रशिक्षकका रुपमा अर्जुन राईलाई नियुक्त गरेको छ । प्रशिक्षक राईसँगै धरानका झण्डै २० जना पूर्व खेलाडीहरु स्वयंसेवकका रुपमा खटिएका छन् ।

बालबालिकाहरुमा प्रगति देखिइरहेको नगर खेलकुद विकास समितिका पूर्व संयोजक तथा ग्रसरुट फुटबलका सयोजकसमेत रहेका गोधुली क्लबका उपाध्यक्ष सतिस केसी बताउँछन् ।

प्रशिक्षणमा खारिएका १२ वर्षमाथिका बालबालिकालाई स्पेसल कोर्सको समेत व्यवस्था गरिएको छ । १२ वर्षमाथिका बालबालिकालाई बुधबार, बिहीबार र शुक्रबार ३ दिन स्पेसल कोर्स हुने गरेको छ ।

धरानभित्रका पटनाली, विष्णुपादुकालगायतका ग्रामीण क्षेत्रबाट पनि बालबालिका आइरहेका छन् ।

धरान रंगशाला पुगेका एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई र धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्रविक्रम बेघाले  बालबालिकालाई प्रोत्साहित गरे । बालबालिकाले निरन्तर अभ्यासबाट सिकेका प्रतिभा र सीपलाई परीक्षण गर्न मासिक फुटबल टुर्नामेन्टको आयोजना गर्नुपर्ने आवश्यकता रहेको छ ।

‘धरान खेलकुदको शहर हो, फुटबलको उर्वरभूमि हो । फुटबलको माध्यमबाट पनि धरानलाई अन्तर्राष्ट्रिय जगतमा  चिनाउने काम भैरहेको छ ।