वराहक्षेत्र ५ स्थित कालाबञ्जर क्षेत्र भएर बग्ने हैंटा खोला अतिक्रमण गर्नेलाई नगरपालिकाले ठाउँ खाली गर्न दोस्रो पटक सूचना जारी गरेको छ ।
पहिलो पटक जारी गरेको सूचना आज आइतबार सकिएपछि नगर प्रमुख रमेश कार्कीले सात दिने सूचना पुनः जारी गरेका छन् ।
सूचनामा हैटाखोलाको वहाव क्षेत्र अतिक्रमण गरी पानीको वहाव रोकिने गरी निर्माण गरिएको खोलाभित्रका घर, टहरा तथा वरण्डाहरुका कारण पानी बस्ती तथा सडकमा प्रवेश गरी बर्सेनि ठूलो मात्रामा धनजनको क्षति भइरहेको नगरपालिकाको भनाइ छ ।
नगरले गत वैशाख ३ गते ३५ दिने सूचना प्रकाशित गरेको थियो । तोकिएको समयमा अतिक्रमित क्षेत्र खाली नभएकाले पुनः दोस्रो पटक सूचना जारी गरिएको हो ।
तोकिएको समयमा संरचना हटाउन अटेर गरेमा त्यस्ता संरचनाधनीलाई स्थानीय सरकार सञ्चाल ऐन, २०७४ तथा प्रचलित ऐनकानुनअनुसार कारबाही गरी भत्काउन लाग्ने सम्पूर्ण खर्च घरधनीले बेहोर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
खोला अतिक्रमण गरेर निर्माण भएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा समिति निर्माण भएको छ । समितिमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौला छन् ।
अतिक्रमण गर्ने घरधनीहरुले नभत्काइदिए हुने भन्ने याचना जनप्रतिनिधि समक्ष गर्दै आएका छन् । आफूहरु वर्षौंदेखि सो स्थानमा बसेको उनीहरुको जिकिर छ । ‘जनता नभए कसरी राजनीति गर्नुहुन्छ ?’ स्थानीयले याचना गरेका छन् ।
केही समयदेखि स्थानीय अभियानताले हैंटा खोला नियमित सरसफाइ गर्दै आएका छन् ।