वराहक्षेत्र ५ स्थित कालाबञ्जर क्षेत्र भएर बग्ने हैंटा खोला अतिक्रमण आजदेखि हटाइने भएको छ ।
अतिक्रमण हटाउनेसम्बन्धमा नगरपालिकाले वैशाख ३ गते पहिलो पटक ३५ दिने सूचना जारी गरी गरेको थियो । सो अवधिमा अतिक्रमित क्षेत्र खाली नभएपछि गत जेठ ७ गते दोस्रो पटक र जेठ १६ गते तेस्रो पटक सूचना जारी गरेको थियो । आजदेखि भने नगरपालिकाले नहटाइएका संरचनाहरुलाई आफैं भत्काउँदै छ ।
हैटा खोलाको वहाव क्षेत्र र खोलाको नक्सा मिचेर संरचना निर्माण भएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । ‘खोलाभित्र घर, टहरा तथा बरण्डाहरुका कारण पानी बस्ती तथा सडकमा प्रवेश गरी बर्सेनि ठूलो मात्रामा धनजनको क्षति पुगिरहेको छ,’ सूचनामा भनिएको छ, ‘पटकपटक सूचना प्रकाशित गरे पनि सो अतिक्रमित क्षेत्रमा कुनै संरचनाहरु हटाइएको छैन ।’
सूचनाको समयावधिभित्र संरचना हटाउन अटेर गरेका संरचनाधनीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित ऐन कानुनअनुसार कारबाही हुने नगर प्रमुख रमेश कार्कीले बताए । त्यस्ता संरचना भत्काउन लाग्ने खर्चसमेत घरधनीले नै बेहोर्नुपर्ने नगर प्रमुख कार्कीले बताए ।
वराहक्षेत्र ५ का वडाध्यक्ष रोहित काफ्लेका अनुसार अतिक्रमण गर्ने घरधुरीलाई वर्षा अगाडि नै अतिक्रमित भूभाग खाली गराउने योजना रहेको बताए ।
‘नम्बरी र नक्सा पास भएका संरचना रहन्छ, बाँकी कुरा हामी क्लियर गर्छौं, भन्ने निर्णय भएको छ, वडाध्यक्ष काफ्लेले भने, ‘हामीले स्थानीय सरोकारवालासँगको छलफलमा त्यही कुरा जानकारी गराएका छौं ।’
अतिक्रमण गर्ने घरधनीहरुले नभत्काइदिए हुने भन्ने याचना जनप्रतिनिधि समक्ष गरेका थिए । आफूहरु वर्षौंदेखि सो स्थानमा बसेको उनीहरुको जिकिर थियो ।
हैंटा खोला सरसफाइको नीतिगत योजना वराहक्षेत्र ५ को वडा कार्यालयले अघि सारे पनि स्थानीय अभियन्ता सूर्य बस्नेत, पहलमान बस्नेतलगायतको सक्रियतामा हैंटा खोला सरसफाइ अभियान सुरु गरिएको थियो । अभियानकै क्रममा गठन भएको वराहक्षेत्र सचेत समूहले हैंटा खोलाको नियमित सफाइ गरिरहेको थियो ।
यो सरसफाइ अभियानमा नगर प्रमुख रमेश कार्कीसमेतले खोलाको सरसफाइ गरेका थिए । अभियानको प्रभावकारिताकै कारण खोलाको क्षेत्र निकाल्ने र अतिक्रमित भूभाग खाली गराउने निर्णयमा वराहक्षेत्र नगरपालिका पुगेको थियो ।
खोला अतिक्रमण गरेर निर्माण भएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा समिति निर्माण भएको छ । समितिमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौला छन् । समितिले यस अघि तत्काल खोलाको नक्सा हेरेर खोला निकाल्ने तयारी गरेको थियो ।
आज मध्यान्ह १२ बजेदेखि अतिक्रमित संरचना हटाइने बताइएको छ ।