पाँचथर । पाँचथरको फिदिम नगरपालिकामा जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति र पाँचथर जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा फिदिम बजारमा जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता हुन लागेको हो ।

यही असार १५ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । जिल्ला खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ । प्रतियोगितालाई कोशी प्रदेश बुद्धिचाल सङ्घले प्राविधिक सहयोग गर्ने भएको छ ।

विभिन्न चार विधामा हुने बुद्धिचाल प्रतियोगिताका खेलाडीहरूलाई एक लाख ६६ हजार नगद पुरस्कार प्रदान गर्ने खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । उनका अनुसार खुल्ला अन्तर्गत प्रथमदेखि तेह्रौँ स्थानसम्म हुने खेलाडीलाई नगदसहित पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथो १२ हजार, पाँचौंले १० हजार प्राप्त गर्नेछन् । त्यस्तै छैठौं हुनेले नगद ९ हजार, सातौंले ८ हजार, आठौंले७ हजार र नवौंदेखि तेह्रौंम्मले ६ हजारको दरले पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट वयोवृद्धतर्फ (५५ वर्षमाथिको समूह) नगद ६ हजार, उत्कृष्ट जुनियरतर्फ (१६ वर्षमुनी) र महिलातर्फ प्रथम हुनेले समान ६ हजार पुरस्कार पाउनेछन् । जनप्रतिनिधितर्फ उत्कृष्ट हुनेले नगद ६ हजार पुरस्कार पाउने मोक्तानले बताए । प्रतियोगिता सञ्चालन गर्न पाँच लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा पाँचथर जिल्लाभरिका १ सयभन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।