धरान । बागमती प्रदेशको रसुवागढी नाका हुँदै चीनको केरुङबाट नेपालमा सामान ढुवानी गर्ने ट्रक कन्टेनरका चालक तथा सह–चालकहरूलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न माग गर्दै ज्ञापन–पत्र बुझाएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।
लकडाउनका कारण बन्द रहेको रसुवा नाका गत पुसदेखि सञ्चालन भए पनि चालक तथा सह–चालकहरूलाई चीन प्रवेश अनुमति–पत्र नदिएको उनीहरूको भनाइ छ ।
मजदुर तथा व्यवसायीहरूले मजदुरहरूलाई प्रवेश अनुमति–पत्र उपलब्ध गराउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ । गृह मन्त्रालय अध्यागमन महाशाखाले रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्र सम्बन्धी कार्यविधि २०७६ जारी गर्दै चार प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरेको छ ।
सोही कार्यविधि अनुरूप मजदुरहरूलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न आग्रह गरेको मजदुर व्यवसायीको प्रतिनिधि मण्डलका प्रमुख नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले बताए ।
राईका अनुसार यसअघि रसुवास्थित अध्यागमन प्रमुख, भन्सार प्रमुख, प्रमुख जिल्ला अधिकारी, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष रसुवाका सुरक्षा प्रमुखलाई भेटेर ध्यानाकर्षण गराइएको थियो ।