बिर्तामोड । झापाको हल्दीबारी गाउँपालिका वडा नं.१ का वडाध्यक्ष देवीबहादुर थापाले दुई सन्तानका बाबुलाई अविवाहित प्रमाण–पत्र दिएका छन् ।

हल्दीबारी–१ का टीकाराम विश्वकर्मालाई वडाध्यक्ष थापाले अविवाहित प्रमाण–पत्र दिएका हुन् । विश्वकर्माको एक छोरा र एक छोरी छन् ।

उनीहरूको जन्मदर्तासमेत सोही गाउँपालिकामा गरेको पाइएको छ । २०३६ फागुनमा जन्मिएका विश्वकर्मा वैदेशिक रोजगारका क्रममा छन् । टीकारामलाई रोजगारका क्रममा विदेशमा समस्या भएपछि उनका बाबुले वडाबाट अविवाहित प्रमाण–पत्र बनाएका हुन् ।

टीकारामका बाबु लालबहादुर विश्वकर्माको निवेदनका आधारमा वडाध्यक्ष थापाले जेठ २१ गते विश्वकर्मालाई अविवाहित प्रमाण–पत्र बनाइदिएको खुलेको छ । वडाध्यक्ष थापाले लालबहादुर विश्वकर्माको निवेदनका आधारमा दुई सन्तानका बाबु उनका छोरा टीकारामलाई अविवाहित प्रमाण–पत्र बनाइदिएको स्वीकार गरे । उनले पहिले सिफारिस दिएपछि फेरि ५ जना छिमेकी राखेर गाउँ सर्जमिन गरेपछि त्यसलाई सच्याइएको बताए ।

‘गाउँ सर्जमिन गर्दा उनी विवाहित भएको खुल्यो’ थापाले भने, ‘त्यसपछि गाउँपालिका गएर सिफारिस लिनू भनेर पठाइदिएको थिएँ । पहिले दिएको सिफारिस कसैले मिडियामा दिएको रहेछ ।’ उनले टीकारामकी श्रीमती २०६० सालदेखि घर छोडेर हिँडेको तथा अर्काेपट्टि पनि दुईजना सन्तान भएको पाइएको बताए । श्रीमतीले छोडेपछि दोस्रो विवाह नभएको भनेर अर्काे सिफारिस गरिदिएको दाबी उनले गरेका छन् ।

हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले सिफारिस दिने क्रममा गल्ती भएको हुनसक्ने बताए । ‘नियत गलत नराखेको पनि हुनसक्छ’ लिङ्देनले भने, ‘काम गर्दा गर्दै गल्ती भएको हो भने त्यसलाई सच्याउनु पर्छ । नियत राखेर गल्ती गरेकै हो भने उहाँले कानूनी कारबाही भोग्नुपर्छ ।’ उनले घटनाको छानबिन गर्ने सङ्केत गरेका छन् ।