भद्रपुर । झापाका सहकारी संस्थाहरूले फेरि पनि शान्ति सुरक्षाका लागि प्रहरी प्रशासनसँग आग्रह गरेका छन् ।

यसअघि जिल्लाका सहकारी संस्थाहरूले गत जेठ १४ गते जिल्ला प्रशासन कार्यालय झापामा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए ।

 त्यस्ता किसिमका गतिविधि नरोकिएको भन्दै सो कार्यमा प्रत्यक्ष– अप्रत्यक्ष रूपमा संलग्न जो कोही व्यक्ति तथा समूह भए पनि प्रचलित कानुन बमोजिम कारबाही गर्न सम्बन्धित सरोकारवाला निकायसँग झापा जिल्ला सहकारी सङ्घले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष गणेश ढकाल र सचिव भवानीप्रसाद दङ्गलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी कुनै पनि गलत कार्य गर्ने, त्यस्तो कार्यमा प्रोत्साहन गर्ने, ऋण नतिर्ने सबै कानुनतः दण्डित गर्न आग्रह गरेका छन् । उनीहरूले केही व्यक्ति तथा समूहले अभियानको नाममा र राजनीतिक दलको समेत नामबाट सहकारी संस्थामा निरन्तर गलत क्रियाकलाप गरिरहेकाले सम्बन्धित राजनीतिक दल र संस्थालाई अविलम्ब त्यस्तो कार्य सच्याउन तथा त्यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न अनुरोध गरेका छन् अन्यथा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइने समेत विज्ञप्तिमा उल्लेख छ ।

झापालगायत देशका विभिन्न स्थानमा समूह तयार गरी सहकारी संस्थाहरूमा होहल्ला गरी सार्वजनिक हुल हुज्जत गर्ने पाइएको छ । विभिन्न सहकारी संस्थाहरूमा नेकपा माओवादी विप्लव समूहको नाममा संस्थाको सेवा केन्द्रहरूमा गई कर्मचारीहरूलाई विभिन्न धाक धम्की दिने, संस्थामा तालाबन्दी गर्ने साथै कर्मचारीहरूलाई मानसिक तनाव दिने लगायतका अमर्यादित गतिविधि भइरहेको सहकारी संस्थाहरूले जनाएका छन् ।

लक्की राजवंशीले ऋण किन चाँडै तिरेको भन्दै सहारा नेपाल साकोसले धनी पुर्जा नदिएको एक युट्युब च्यानलमार्फत बताएकी थिइन् । दुर्गा प्रसाईँ संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाऊँ महाअभियानले उचालेर सहारा नेपालको बदनाम गराएको भन्दै राजवंशीको आरोप झुटो भएको सहारा नेपाल साकोसले स्पष्ट पारिसकेको छ ।