धरान । सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत सङ्कलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग र विभिन्न वस्तुगत सङ्घहरूको सहयोगमा बिहीबार सङ्घको धरान–१ स्थित कार्यालयमा रक्तदान गरिएको हो ।

सङ्घका कार्यवाहक अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका सभापति एवम् केन्द्रीय सदस्य उमेश थापाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले धरानमा डेङ्गुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको अभाव भएको बेला सङ्घले आयोजना गरेको रक्तदान कार्यक्रमले केही राहत मिल्ने बताए ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसपी भीम दाहालले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना रक्तदान कार्यक्रमहरूमा नियमित रक्तदाता भएको बताउँदै कुनै पनि समस्याका बेला सुरक्षा निकायहरू ब्लड बैङ्कसरह रहेको बताए ।

कार्यक्रममा नेपाली सेनाको पूर्वी पृतना अन्तर्गत श्रीकृष्णदल गण इटहरी ब्यारेकका सेनानी दीपककुमार खत्री, इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ल, सशस्त्र प्रहरी बल सुरक्षा बेस धरानका डिएसपी सुरज रिजाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर श्यामकुमार बस्नेत, धरान–१ का वडाध्यक्ष यज्ञमणि आचार्य, सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठलगायत उपस्थित थिए ।