विराटनगर । विराटनगर महानगरपालिका–६ का २७ वर्षीय पवन साहलाई राति कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गरेको आरोपमा पक्राउ परेका विराटनगर–४ का १९ वर्षीय आयुष भेटवाल जोडिएको घटनाको प्रहरीले अनुसन्धान पूरा गरेको छ । 

मोरङ प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रहरीले बुझाएको प्रतिवेदनमा मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (१)  अन्तर्गत ज्यान मार्ने उद्योग कसूर गरेको देखिएकोले दफा १८३ (२) बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँ जरिबानाको माग दाबी लिई रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन तयार गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी गरेको बुझिएको छ । 

‘हामीले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएका छौँ’ डिएसपी दाहालले भने, ‘सरकारी वकिलले अभियोजन तयार गरी अदालतमा मुद्दा दर्ता गर्नेछ ।’  

असार २० गते राति साढे ८ बजे विराटनगर–४ स्थित कोशी राजमार्ग दूध फारम चोकमा बा.१५ च ३४४५ नम्बरको कारमा सवार आयुषले साइकल यात्री साहलाई कुटपिट गरेका थिए । आयुषले मुक्का हान्दै कुटपिट गरेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

मुक्का हानेपछि बेहोस भएर ढलेका साहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पुर्याइएको थियो । रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर भेटवालले साइकल यात्री साहलाई मुक्का हानेका थिए । उनको मुक्कापछि साह सडकमा ढलेको देखिन्छ । साह सडकमै ढलेपछि उनै भेट्वालले घिसारेर सडकको किनारमा ल्याएर छोडेका थिए । भेटवाललाई घटना भएको १० घण्टामा मोरङ प्रहरीले घरैबाट नियन्त्रणमा लिएको थियो ।