धरान । ४१ औँ बी.पी. स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेसले धरानमा ग्रीन एण्ड क्लिन धरान अभियान सुरु गरेको छ ।

अभियान धरानको वडा नं. १ र २ मा सम्पन्न भएको छ । अभियानमा न्यूनतम् एक घर एक बिरुवा रोपेर ग्रीन धरान बनाउन बिरुवा वितरण गर्ने गरिएको छ भने सडक सरसफाइ, डेङ्गुको लार्भा नष्ट तथा डेङ्गुसम्बन्धी सचेतना पर्चा वितरणसमेत सँगसँगै गरेर क्लिन धरान बनाउने कार्य भइरहेको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए  । उनले हरेक वडामा घरघरमा गई कम्तीमा एक बिरुवा रोप्ने, सडक सरसफाइ गर्ने तथा डेङ्गुको लार्भा नष्ट गर्ने कार्य र सचेतनामूलक पर्चा वितरण गर्ने कार्य गरिने बताए ।

पूर्व नगरसभापति किशोर राईले काङ्ग्रेसको यो अभियानवाट जनतामा सकारात्मक सन्देश गएको र नगरवासीहरू खुसी भएको पाइएको बताउँदै यो अभियानले काङ्ग्रेसलाई जनताको घर–घरमा पुर्याएको बताए । घर कम्पाउण्ड तथा करेसाबारीमा रोप्न सकिने तेजपत्ता, अमला, टाँकी, धुपी, चिउरी, हर्रो, बर्रो, कागती, कफी, शिरिष, सिसौ, लप्सी, बकाइनो, पारिजातलगायतका बिरुवाहरू घर–घरमा उपलब्ध गराइएको कार्यक्रम संयोजक मचिन्द्र राईले बताए । काङ्ग्रेसको ग्रीन एण्ड क्लिन धरान अभियान भदौ १० गतेसम्म १ महिना सञ्चालन हुने क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले अभियान अत्यन्तै राम्रो भएको र एक–दुई सय तेजपत्ताको बिरुवा उपलब्ध गराइदिन आग्रह गर्दै आफू पनि घर–घरमा बिरुवा वितरण गरी अभियानमा जोडिने प्रतिक्रिया दिएका छन् ।

नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा सञ्चालित अभियानमा काङ्ग्रेसको कोशी प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेशसभा १(१) र १(२) कार्यसमिति, नगर कार्यसमिति, वडा कार्यसमिति र भातृ तथा शुभेच्छुक सङ्घ–संस्थाका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।